

दमौली– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखराको विमानस्थल निर्धारित समयभन्दा ६ महिना अगावै सञ्चालनमा ल्याउने बताएका छन् ।
काठमाडौँमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले धान्न नसक्ने भएकाले भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माणलाई तीव्रता दिइएको भन्दै उनले यस्तो बताएका हुन् । सोमबार मन्त्री भट्टराईले तनहुँको दमौलीमा सुरु भएको महायज्ञको उद्घाटन गर्दै भने, ‘गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारी भइसकेको छ । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा ६ महीना अगाडि नै सकिन्छ ।’ निर्माणाधीन विमानस्थलले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
साथै, उनले गरिबी अन्त्य तथा सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्नुपर्ने बेला आएकोे समेत बताए । मन्त्री भट्टराईले वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउने, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको भन्दै ऊर्जामा नेपाल आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको बताए ।
दमौलीमा निर्माण गर्न लागिएको बेदव्यासको १०८ फिटको मूर्तिले धार्मिक पर्यटनमा भूमिका खेल्ने भएकाले आगामी बजेटमा सरकारका तर्फबाट पर्याप्त बजेट विनियोजन गरिने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल धार्मिक सहिष्णुता मुलुक भएकाले अन्य धर्मका मानिस पनि मूर्ति अवलोकनका लागि आउने र यसले समग्र तनहुँकै पर्यटनमा योगदान पुग्ने उनको भनाइ थियो । मन्त्री भट्टराईले पुरानो मौलिक शहर बन्दीपुर, धार्मिक ऐतिहासिक स्थल देवघाट, आदिकविको जन्मस्थल चुँदीरम्घालाई व्यवस्थितरूपमा विकास गर्ने सरकारको सोच रहेको सो अवसरमा जानकारी गराए ।
यही २८ माघसम्म सञ्चालन हुने महायज्ञमा करीब रु पाँच करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड खर्च हुने भए पनि कोषमा रु ५० लाख मात्रै रहेकाले महायज्ञमार्फत बजेट जुटाउने प्रयास गरिएको श्रेष्ठले बताए ।
व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको छ । व्यासको मूर्ति निर्माणको थालनी २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम संकलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख संकलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
व्यासमूर्ति सहित सबै संरचना निर्माणका रु ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थक्वेक सेफ्टी सोलुशन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।