

काठमाडौं– गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको सोमबार औपचारिक एक कार्यक्रमकाबीच विदाई गरिएको छ । यसअघि उनी मुख्य सचिव हुने चर्चा समेत चलेको थियो । तर, अब सचिव राईलाई सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने सरकारले तयारी गरेको बुझिएको छ ।
राईलाई सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उनले विदाई गरे । विदाई कार्यक्रममा गृहमन्त्री थापाले पनि राई सरकारले कुनै जिम्मेवारी दिन लागेको संकेत गरे । २२ महिनाअघि गृहसचिवको जिम्मेवारी सम्हालेका थिए ।
विदाई कार्यक्रममा गृहमन्त्री थापाले गृहसचिवबाट विदाई गरिएपनि राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताए । ‘उहाँ गृहसचिवबाट मात्रै विदाई हुनुभएको हो’ गृहमन्त्री थापाले भने, ‘उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदैछौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीका समेत विश्वास पात्र राईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने तयारी सरकारले गरेको बुझिएको छ । गृहमन्त्री थापाको भनाइले यसमा थप पुष्टि भएको छ । गृहमन्त्री थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईको इमान्दारिता, योग्यता र राष्ट्रप्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको बताए ।
विदाई कार्यक्रममा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरूको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरेको बताए । उनले प्रशासन सुधार, सुशासन कायम गर्न, प्रहरी प्रशासनमा लामो समयदेखिको बढुवा प्रकृयालगायतका सुधारका काम आफ्नो कार्यकालमा भएको दावी गरे । राईले गृहमन्त्रीको आँट र सहयोगकै कारण सुनकाण्ड, सिण्डिकेट अन्त्यलगायतका कामहरू भएको बताए ।
सचिव राईले अवकाश हुनु तीन दिनअघि नै राजीनामा दिएका हुन् । उनीसँगै अर्थ मन्त्रालयका सचिव राजन खनाल, सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि २२ माघबाट अनिवार्य अवकाश पाउँदैछन् ।