

सुनसरी– जबरजस्ती बलात्कारको आरोप लागेका संघीय प्रहरी कार्यालय धरानका प्रमुख निलम्बित एसएसपी शौरभ राणाले आइतबार प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्मसर्मपण गरेका हुन् ।
प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएपश्चात राणाले आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका हुन् । प्रहरी सम्पर्कमा आएपछि घटनाको अनुसन्धान गर्ने बाटो खुलेको प्रहरीले जनाएको छ ।
झापाकी एक महिलाले राणाले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता गरेकी थिइन् । त्यसपछि गृहमन्त्रालयले राणालाई शुक्रबार पदबाट निलम्बन गरेको थियो । निलम्बनपछि फरार रहेका राणा जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएको डिएसपी विनोद शर्माले जानकारी दिए । आफै प्रहरी कार्यालयमा हाजिर भएका राणालाई अनुसन्धानका लागि अदालतमा उपस्थित गराई म्याद थप गरिने डिएसपी शर्माले बताएका छन् । झापा विर्तामोड घर भएकी लिम्बु थरकी विवाहित महिलाले राणाविरुद्ध जबरजस्ती करणी ऐनअन्र्तगत मुद्दा दर्ता गरेकी हुन् । एसएसपी राणामाथि जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदादेखि जबरजस्ती गरेको आरोप छ ।
पीडित महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ । ती पीडित महिलाले एसएसपी राणाले जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र संघीय प्रहरी कार्यालय धरानको प्रमुख हुँदासमेत आफूलाई बारम्बार डरधम्की दिएर जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएकी छन् ।