ढोरपाटन- निसीखोला गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसका दिन सार्वजनिक बिदा दिएको छ ।मगरहरुको बाहुल्यता रहेको निसीखोलामा यस वर्ष पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिएका हुन् ।
मगर समुदायले बारम्बार सार्वजनिक बिदाको माग गर्दै आएको र राष्ट्रिय दिवसका रुपमा यसलाई मनाउने थालिएको फागुन १५ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए ।
“पहिले सार्वजनिक बिदा दिइएको थिएन, मगर दिवसलाई भव्य रुपमा मनाउने गरिएको छ, यहाँ धेरै समुदायको बसोबास छ, हामीहरूले सबैको संस्कार संस्कृतिलाई समान रुपले हेर्नुपर्छ भन्ने लागेर सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ”, अध्यक्ष घर्ती मगरले बताए ।
यसै गरी मध्यविन्दु नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्घको स्थापना दिवसका अवसरमा फागुन १५ गते सोमबार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता रहेको छ ।
गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएका हुन् ।
“सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ”, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।
मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दैछन् ।
मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ ।
विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने मगर समुदायले विश्वास लिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ ०८:१३