

काठमाडौं– आफ्नै साथीको हत्या गरेर फरार भएका बंगलादेशी नागरिक दुलामियाँ पक्राउ परेका छन् । गत साता सोल्टिमोडस्थित भिल्ला ग्रान्ड होटलमा ४५ वर्षीय बंगलादेशी नागरिक मुहिउद्धिन अहमद परवेजको विभत्स हत्या भएको थियो । उक्त हत्यामा संलग्न मियाँलाई सिरहाको लहानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्नमा आरोप लागेका मियाँलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अनुसन्धानबाट परवेज र मियाँ एउटै फ्लाइटमार्फत नेपाल आएको खुलेको छ । परवेजको हत्यामा संलग्न मियाँविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरी अनुसन्धान भन्छ
यही १४ जनवरीमा बंगलादेशको वोएली गाईबन्धा घर भएका मियाँ १० हजार टाँका बोकेर ढाका गएका थिए । उनी त्यहाँ एक होटलमा बसेका थिए । परवेज पनि होटलमा जान्थे । उनीहरू प्राय सँगै बसेर खान्थे । ६ दिन होटलमा बसेका मियाँले ६ हजार टाँका त्यही खर्च गरेको प्रहरी अनुसन्धानबाट खुल्न जनाएको छ । १९ जनवरीमा परवेजले सनवे ट्राभल एण्ड टुर्सबाट नेपाल जान भन्दै हिमालयन एयरलाइन्सको २ वटा टिकट बुक गर्छन् । त्यतिबेलासम्म मियाँलाई थाहा हुन्न । २० जनवरीमा उनीहरू हिमालय एयरलाइन्सको १० नम्बरको सी र डी सिटमा बसेर नेपाल आए ।
उक्त एयरलाइन्समा थप ४ जना बंगलादेशी नागरिक पनि थिए । ती बंगाली नागरिकले उनीहरूलाई सोध्छन्, ‘कुन देश जान लागेको ?’ परवेजले लेवनान जान लागेको बताउँछन् । यता, परवेजले मियाँलाई नेपालमा ट्रान्जिट छ । एकदिन बस्न पर्छ । भोलिपल्ट नेपालबाट लेवनान जाने भन्दै ल्याएको प्रहरी अनुसन्धान देखिएको छ ।
परवेजले मियाँलाई लेवनान पठाइदिन्छु भनेर ३ वर्ष अगाडि ३ लाख टाँका दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । सोहीअनुरूप परवेजले मियाँलाई २१ जनवरीमा लेवनान जाने भन्दै नेपाल ल्याएको खुलेको छ । ती चार बंगालीले परवेजको कुरालाई विश्वास गरेका थिए । ती चार नागरिक नेपाल हुँदै संयुक्त अरब इमिरेट्स (युएई) जान लागेको थिए ।
प्रहरी अनुसन्धान भन्छ, ‘विमानस्थलको चेकजाँचपछि ट्याक्सी लिएर सिधै उनीहरू सोल्टीमोडस्थित भिल्ला ग्रान्ड होटल हानिएका थिए । उनीहरू करिब ९ः५१ बजे होटल पुगे । २१ जनवरीमा उनीहरू ७ बजेतिर उठेर मियाँले लेवनान जाने फ्लाइट कति बजेको हो भनेर परवेजलाई सोधेका थिए । तर, उल्टै परवेजलाई मियाँलाई धम्क्याएका थिए । मियाँले प्रहरीसँग आफूलाई परवेजले होटलबाट बाहिर निस्कन समेत नदिएको र यदि निस्किए मारिदिने धम्की दिएको बताएका छन् ।
मियाँका अनुसार नेपाल आउने भनेपछि हेग लेखिएको एक बोत्तल रक्सी बंगलादेशको ड्युटी फ्रिबाट किनेर ल्याइएको थियो । रक्सीको पैसा परवेजले नै तिरेका थिए । आफूले हातमा बोकेर ल्याएको प्रहरीसमक्ष उनले बयान दिएका छन् । मस्त सुतिरहेका परवेजको उक्त रात रमाइलो गर्ने योजनालाई मियाँले असफल पारेका छन् । मियाँले सुतिरहेको बेला परवेजको हत्या गर्ने योजना बनाएका थिए ।
ड्युटी फ्रिबाट ल्याएको सिल नखोलेको रक्सीको बोत्तल परवेजको दाहिने आँखामा उनले प्रहार गरेका थिए । त्यसपछि बेहोस भएका परवेजको मुखमा मियाँले फुटेको रक्सीको बोत्तल घाँटीमा छिराएका थिए । प्रहरी अनुसन्धानका अनुसार त्यसपछि होटलको पछाडिबाट मियाँ भागेका थिए ।
त्यसपछि भारत छिरेका मियाँलाई प्रहरीले फारम भर्न लगाए तर उनीसँग भारतको भिसा थिएन । त्यसपछि प्रहरीले जान मिल्दैन भनेपछि पनि मियाँले आग्रह गरिरहे । अन्तमा रुँदै उनले नेपालमा मान्छे मारेर आएको प्रहरीलाई बताएका थिए । समात्न पर्नेमा उल्टै भारतीय प्रहरीले कलकत्तामा बंगलादेशी कन्सुलर रहेको र त्यहाँ जान सुझाव दिएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
ट्रेन चढेर मियाँ कलकत्तास्थित बंगलादेशी कन्सुलर पुगेपछि भारतबाट बंंगलादेश जान पाउँदैनन् । कन्सुलरका कर्मचारीले नेपाल हुँदै आफ्नो स्वदेश फर्किन सुझाव दिए । १५ माघ अर्थात मंगलबार साँझ मियाँ काकडभिट्टा आएपछि नेपाल प्रहरीलाई सोधे, ‘कसरी बंगलादेश जाने ?’ ‘बंगलादेशको राजदूताबास काठमाडौंमा छ । त्यहीँ गएर प्रक्रिया मिलाउनु’ भन्ने प्रहरीको सुझावपछि मियाँ तयार भएका थिए ।