
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा राजनीति प्रतिवेदनमाथि छलफल सुरु भएको छ । बुधबार उद्घाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समूहगत छलफल सुरु भएको हो ।
प्रतिवेदन छलफलका लागि १५ समूह विभाजन गरिएको छ । त्यसमध्ये १४ समूहले टोली नेता पाएका छन् । उक्त १५ टोली नेतामा १० नम्बर समूहमा नेतृत्व विवाद हुँदा टोली नेता चयन हुन नसकेको हो ।
तर, टोली नेता चयन नभएपनि छलफल भने सबै समूहले सुरु गरेको नेकपाका एक नेताले बताए । महेश बस्नेत, यज्ञराज सुनुवार, युवराज चौलागाईं, माधव सापकोटा, युवराज दुलाललगायतका नेता सहभागी १० नम्बर समूहमा नेतृत्वमा कुरा नमिलेको हो । तर, अन्य १४ समूहले भने टोली नेता र उपनेता पाएका छन् ।
उर्मिला अर्याल, कमला रोका, खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, दिनानाथ शर्मा, पूर्णकुमारी सुवेदी, विन्दा पाण्डे, भगवती चौधरी, राजेन्द्र राई, रेणु दाहाल, लेखनाथ न्यौपाने, राम कार्की र हिमाल शर्मा टोली नेता चयन भएका छन् ।
टोली नेतालाई यसरी विभाजन गरिएको छ । जसबाट प्रतिवेदनमाथि छलफलमा निष्कर्ष निस्किने नेकपाको अपेक्षा छ । टोली नेताको समूह १ मा दुईजना नेता बनेका छन् । उर्मिला अर्याल र आनन्द पोखरेललाई नेता बनाइएको छ । त्यस्तै, समूह २ मा कमला रोकाले नेतृत्व पाएकी छन् । उनको समुहमा कृष्णध्वज खड्का र कृष्ण राई उपनेता बनेका छन् ।
यस्तै, समूह ३ मा खिमलाल भट्टराई टोली नेता बनेका छन् भने समूह चारमा जगन्नाथ खतिवडा टोली नेता बनेका छन् । त्यसैगरी समूह पाँचमा ठाकुर गैरे टोली नेता बनेका छन् भने ६ मा दिनानाथ शर्मा टोली नेता रहेका छन् । उनको समूहमा देवेन्द्र दहाल, देवी खड्का, देवी ज्ञवालीलगायत नेता छन् ।
समूह १३ मा लेखनाथ न्यौपाने नेता र सावित्रा भुसाल उपनेता छन् । १४ नम्बर समूहमा राम कार्की नेता बनेका छन् । केही दिनअघि मात्र केन्द्रीय सदस्य मनोनय भएकी शिवमाया तुम्बाहाङफे उपनेता बनेकी छन् । १५ नम्बरमा हिमाल शर्मा टोली नेता बनेका छन् भने सावित्रा भुसाल उपनेता बनेकी छन् । बिहीबार समूहगत छलफलपछि शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष राख्न निर्देशन दिइएको छ ।