
काठमाडौं– सरकारले चीनसँग जोडिएको सीमा रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका १५ दिनका लागि बन्द गरेको छ । चीनमा फैलिएको कोरोना भाइरसबाट सर्तकता अपनाउँदै आवत–जावतमा रोक लगाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार चीनमा कोरोना भाइरस फैलिएकाले १५ माघदेखि ३० गतेसम्म बन्द सीमा गरिएको हो । चीनको वुहान सहरबाट फैलिएको कोराना भाइरस तिव्ररूपमा फैलिँदै गएपछि नेपाललाई सतर्कता अपनाउन आह्वान गरेको छ ।
तर, सरकारले भ्रमण वर्ष घोषण गरेको सुरुमै चीनबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि भ्रमण वर्षलाई धक्का भएको छ । यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चिन्ता व्यक्त गरेका छन् । बुधबार केन्द्रीय कमिटि बैठकमा उनले भ्रमण वर्षका रूपमा यस वर्षलाई घोषणा गरेको तर सुरुवाती चरणमै केही प्राकृतिक धक्का लागेको बताएका थिए । उनले भने, ‘तर, समयमै यसको नियन्त्रणमा लाग्छौँ ।’ यसैबेला संक्रमणका कारण सीमा बन्द गर्दा नेपाल भ्रमण वर्षलाई धक्का लागेको छ ।
चीनमा कोरोना भाइरसले हालसम्म १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने करिब ३ हजार संक्रमित छन् । चीनमा कोरोनाभाइरसको संक्रमित संख्या मंगलबारसम्म ५९७४ पुगेको छ भने तीमध्ये ३२३९ जनाको अवस्था गम्भीर रहेको सेन्टर फर हेल्थ प्रोटेक्सन (सीएचपी)ले जनाएको छ । चीनलगायका १६ भन्दा बढी देशमा यो संक्रमण फैलिएको छ । कोरोना भाइरसबाट चीनमा ३२३९, हङकङमा ८, मकाउमा ७, थाइल्याण्डमा १४, र ताइवानमा ८ मा संक्रमण देखिएको जनाइएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको आशंकामा एक जनालाई निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एक जनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
भाइरस संक्रमण भएको क्षेत्रबाट आएका मानिस र शंकास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ । यसअघि चार जनामा गरिएको परीक्षणमा ९ माघमा एक जनामा संक्रमण भएको फेला परेको थियो । उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्चतहको बैठक बसेर छलफल थालिएको छ । बुधबार साँझ बसेको बैठकले नेपालमा चीनको संक्रमित क्षेत्र उवान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिएपनि अहिलेसम्म कसैमा संक्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । बैठकमा संक्रमण फैलनसक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ ।