
काठमाडौं(प्रस)– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा बुधबार आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले रक्तदान कार्यक्रमबाट रगत निशुल्क संकलन गरिए पनि विरामीले रगत लिदाँ भने शुल्क तिर्नुपर्ने हाम्रो बाध्यता भएको बताए । उनले भने, ‘रक्तदाताले रगत निशुल्क दिएको हुन्छ, तर त्यही रगत हामीसम्म आइपुग्दा महंगो शुल्क तिर्नुपर्छ ।’
अध्यक्ष दाहालले रगतको यस्तो समस्या समाधान गर्न आफु र आफ्नो सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘नेकपाको अध्यक्ष र सरकारको नेतृत्व गर्ने पार्टी नेताको हैसियतमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गर्दछु ।’
समारोहमा थालेसिमिया समाजका अध्यक्ष दुर्गा पाठकले रगत र थालेसिमियाका बिरामीको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताए । उनले थालेसिमियाका विरामीलाई रगत चढाईरहनुपर्ने हुनाले यस्तो रोग लाग्ने वित्तिकै मानिसहरू निराश हुने र उपचारमा नै नजाने प्रवृद्धि बढेको बताए । उनले हाम्रो शरीरको रगत खेर नै जाने भएकोले पनि हामीले समय समयमा रक्तदान गरे यस्ता विरामीले नयाँ जीवन पाउने बताए ।