

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) यतिखेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवादमा छ । एक थरी यो सम्झौता पारित गर्नुपर्ने पक्षमा छन् भने एक थरी विपक्षमा । यसैबेला प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी छिटो पारित गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बैठकलाई सम्बोधन गर्दै उनले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताए । उनले एमसीसीले नेपालीलाई कुनै हानी नपुर्याउने बरु फाइदा हुने दावी गरे । तर, मंगलबार नै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको हितविपरित कुनै निर्णय नगर्ने बताएका थिए । आफ्नो निवासमा भेट्न आएका प्रेस संगठनका पत्रकारसँग कुरा गर्दै उनले एमसीसीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । तर, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली भने जसरी पनि एमसीसी पारित गर्ने पक्षमा पुगेका छन् ।
यस्तै, प्रधानमन्त्री ओलीले संसद्लाई नियमसम्मत ढंगले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाए । उनले भने, ‘समाजको चरित्र पनि मेलमिलापयुक्त तरिकाले अघि बढेकाले संसद् पनि त्यही रूपमा अघि बढ्ने विश्वास छ, जनतामा सार्वभौमसत्ता आइसकेकाले जनता सबै कुराका अन्तिम निर्णयकर्ता बनेका छन्, संविधान कार्यान्वयनका लागि संयन्त्रलाई अघि बढाउनुपर्छ, बहुदलीय व्यवस्था, बहुविचार, बहुलता र विविधता हामीले रोजेको व्यवस्था भएकाले त्यसैअनुसार अघि बढ्नुपर्छ ।’
सबै दलले छानेको व्यवस्था केही मतभिन्नता भएपनि आधारभूत कुरामा एकता गरेर अघि जान सकिने प्रधानमन्त्री ओलीले बताए । विगतमा बाटा फरक भएपनि गन्तव्य एउटै भएकाले एक भएर अघि बढे जस्तै अब पनि त्यही बाटोबाट हिँड्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भने, ‘संघर्षबाट पनि अन्तिममा हामी सहमतिमा पुग्छौँ, सात सालमा आन्दोलन सम्झौतामा पुगियो, सबै एकताबद्ध हुँदा सहमतिका साथ देश अघि बढी सफल भएको इतिहास छ, एकताबद्ध नहुँदा प्रतिगामी तत्व सफल भएकाले अब हामीले बेलैमा ध्यान दिनुपर्छ, एकताबद्ध रूपमा अघि बढ्न अनुभवले शिक्षा दिएको छ ।’
उनले दुनियाँ पूर्वाधार, विज्ञान प्रविधि आदि क्षेत्रमा तीव्र गतिमा अघि बढेको बताउँदै त्यसलाई पक्रन नसके समय खेर जाने बताए । ‘बलिदानीपूर्ण संक्रमणबाट ल्याएको संविधान र त्यसअनुसार कानून निर्माण र कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, आग्रहमा अल्झने गर्नु उपयुक्त हुँदैन,’ उनले भने ।