काठमाडाैं - सङ्घीय संसद् सचिवालय आउँदो ७ गते बिहीबार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहण गराउन गृहकार्यमा जुटेको छ ।
त्यसका लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न लोगो प्रदान गर्नेछ ।
लोगो तयार भइसकेको छ । संसद् सचिवालयले सुन, चाँदी र तामा जडित प्रतिलोगो पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको जनाएकाे छ ।
हिसाब गर्दा दुई सय ७५ वटा सांसदका लागि लोगो बनाउन १५ लाख ९५ हजार रुपैयाँ परेको देखिएको छ । सचिवालयले केही थान लोगो बढी नै छाप्ने भएकाले १६ लाख रुपैयाँभन्दा धेरै खर्च भएको अनुमान गरेकाे छ ।