चितवन- पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको अस्तिपञ्जर फेला परेको छ ।
कालिका नगरपालिकावडा–१ मा रहेको चतुर्मखी सामुदायिक वनको साल वन क्षेत्रमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो ।
गैँडाको हड्डी छरिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । उनका अनुसार करिब ६ महिनाअघि गैँडा मरेको अनुमान गरिएको छ ।
गैँडाको खाग र तीन खुर नभेटिएको उनले बताए । खाग काटिएको अनुमान गरिएको छ । गैँडाको खप्पर र बाँकी रहेको नौ खुरलाई सुरक्षित राखिएको उनले जानकारी दिए ।
डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर गैँडाको शव परीक्षण गरेको उनले बताए । प्राकृतिक कारणले मरेको या चोरी शिकारीका कारण मारिएको भन्ने अध्ययनपछि जानकारी आउने उनले बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १८:०१