काठमाडौं– विश्वकप फुटबलको रोमाञ्चकारी प्रतिस्पर्धा चलिरहेको कतारमा आप्रवासी कामदारको चर्को श्रम शोषण भएको भन्दै युरोपेली संसद्ले आवाज उठाएको छ । विश्वकप फुटबल प्रतियोगिताका लागि रंगशालालगायतका भौतिक संरचना निर्माणका क्रममा कतारले आप्रवासी कामदारको चर्को श्रम शोषण गरेको भन्दै उनीहरुको पक्षमा अवाज उठाएको हो ।
कतारमा श्रम शोषणमा परेका आप्रवासी कामदारलाई न्याय दिन, उनीहरुले पाउनुपर्ने क्षतिपूर्ति उपलब्ध गराउन र न्यूनतम मानवअधिकारको प्रत्याभूति गराउनुपर्ने मागसमेत गरेको छ । उल्लिखित विषयलाई पारित गर्नु अगाडि भएको छलफलमा सांसदहरुले कतारमा वाक स्वतन्त्रतामाथिको नियन्त्रण, अन्य लिंगका व्यक्तिहरुलाई लगाइएको बन्देजको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
युरोपेली संसद्मा आप्रवासी कामदारमाथि भएको श्रम शोषणको विषयले प्रवेश पाएपछि अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरु एम्नेष्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, फेयर स्क्वायरलगायतले वर्षौंदेखि उठाउँदै आएको मुद्दा स्थापित गर्न थप बल पुगेको बताइएको छ ।
कतारको रंगशालासहितका भौतिक संरचना निर्माण गर्दा हजारौं विदेशी कामदारको मृत्यु तथा अंगभंग र घाइते भएको युरोपेली संसद्ले दाबी गरेको छ । उसले कतारमा भएको आप्रवासी श्रमिकको मृत्युको बारेमा पूर्णरुपमा अनुसन्धान गर्न पनि माग गरेको छ । यसैगरी शोषणमा परेका आप्रवासी श्रमिक तथा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ । संसद्ले श्रम शोषणको विषयलाई मात्र प्राथमिकता नदिएर कतारमा हालै श्रमिकको अधिकार स्थापित गर्न गरिएका सुधारकोसमेत प्रशंसा गर्दै तिनिहरुको पूर्णकार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । संसद्ले फिफामा प्रणालीगतरुपमा भ्रष्टाचारको गहिरो जरा रहेको कारण कतारलाई विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न दिएको प्रक्रिया पारदर्शी नहुँदा विश्वव्यापी फुटबलको छवि र अखण्डतालाई फिफाले गम्भीर क्षति पु¥याएको उल्लेख गरेको छ । उसले फिफालाई पनि श्रमिक तथा श्रमिकका परिवारलाई सहयोग गर्ने कार्यको नेतृत्व लिन माग गरेको छ । कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजनाको अधिकार सन् २०१० मा जितेको थियो ।
कतारले श्रमिकले काम गरेको ज्याला भुक्तानी सुनिश्चित गर्न सन् २०१८ मा कानुन निर्माण गर्दै वर्कर्स सपोर्ट एण्ड इन्स्योरेन्स फण्ड स्थापना गरेको थियो । उक्त फण्डबाट तीन करोड २० लाख डलर बराबरको रकम श्रमिकलाई भुक्तानी गरिएको कतारले दाबी गर्दै आएको छ । कतारले आफ्नो सफलतालाई लिएर विरोधीहरुले अनावश्यकरुपमा श्रम शोषणको विषय उठान गरी विश्वव्यापीरुपमा भ्रम फैलाएको बताउँदै आएको छ । कतारका मानव संसाधनमन्त्री अली विन शमिख अल मारीले श्रम शोषण केवल हल्लामात्रै भएको र यस अगाडि नै करोडौं डलर रकम ज्याला पाउन नसकेका आप्रवासी श्रमिकलाई भुक्तानी गरिसकिएको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरुले लामो समयदेखि आप्रवासी कामदारलाई दिने क्षतिपूर्तिको विषयमा चर्को आवाज उठाए पनि कुनै सम्बोधन नभएको जनाएका छन् । पछिल्लो समय विश्वकप सुरु हुनुअघि पनि एम्नेष्टी इन्टरनेसनलले फिफाका अध्यक्ष जियानी इन्फान्टीनोलाई सम्बोधन गर्दै आप्रवासी कामदारमाथि भएको श्रमशोषण र क्षतिपूर्तिका बारेमा ध्यानाकर्षण गराएको थियो । अधिकारवादी संस्थाहरुले उठाएको मुद्दालाई खासै चासो नदिएका इन्फान्टीनोले खेलको पूर्वसन्ध्यामा मन्तव्य दिँदै कतारमा मानवअधिकार हननको विषय विभिन्न संघसंस्था र पश्चिमा सञ्चारमाध्यमहरुले फैलाएको अतिरञ्जना भएको बताए ।
त्यस्तै फ्रान्सेली फुटबल संघका अध्यक्ष नोएल ली ग्राएटले पनि पश्चिमी सञ्चारमाध्यमहरुले कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ का विरुद्धमा ज्यादै भ्रम फैलाएका बताएका थिए । उनले फ्रान्समा यस्तै गर्न प्रचलन रहेको दाबी गरेका थिए । तर, कतारमा विश्वकप सञ्चालन हुँदै गर्दा त्यसमा भाग लिने विभिन्न देशका फुटबल एसोसियसनले कतारमा आप्रवासी कामदारमाथि चर्को श्रम शोषण भएका भन्दै विरोध जनाएका छन् । विश्वकप खेलको सशक्त टिम नेदरल्याण्डस्ले आफ्ना खेलाडीको जर्सी लिलामी गरी त्यसबाट उठेको रकम आप्रवासी कामदारलाई सहयोग गर्ने जनाएको छ ।
मोहनप्रसाद पन्त