काठमाडाैं -काठमाडाैबाट चुनावका लागि बाहिरिनेको सङ्ख्या बढ्दै गएकाे छ । आउँदो आइतबार हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या बढ्न थालेको हाे ।
पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ भएका छन् भने कतिपय बस रिजर्भमा र आफैँ टिकट काटेर गाउँघर जाँदै छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो सार्वजनिक गाडीमार्फत् नै विभिन्न नाका भएर ५५ हजारभन्दा धेरै यात्रु काठमाडाैंबाट बाहिरिएका छन् ।
यो समयमा साढे ४१ हजार यात्रु काठमाडाैं भित्रिएका छन् । काठमाडाैं छाड्नेको सङ्ख्या भोलिदेखि अझ बढ्ने अनुमान गरिएकाे छ ।
भोलिदेखि ५ गतेसम्म मतदानस्थल रहेका शिक्षण संस्थाहरू बन्द हुनेछन् भने सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने छन् ।
बिदासँगै भोलि शुक्रबार पनि परेकाले धेरैजसो भोलि र पर्सि गाउँ घर जानेछन् ।
चुनावका लागि झण्डै पाँच लाख यात्रु काठमाडाैंबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अनुमान रहेकाे छ ।
निर्वाचन आयोगले भोट हाल्ने दिन मङ्सिर ४ गते अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने जानकारी गराइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९ ०९:३०