काठमाडौं– कृष्णभीरको पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । नागढुंगा–मुग्लिन खण्डमा पर्ने यो सडक भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको बाढीका कारण भासिएको थियो ।
भदौ १० गते आएको बाढीले सडकमुनिको भाग कटान गर्दा १४ गते सडक भासिएको थियो । त्यसपछि कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्र्याक बनाइएको र उक्त ट्र्याक बुधबार रातिबाटै पूर्णरुपमा सञ्चालनमा आएको हो ।
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बुधबार साँझ निर्माण पूरा भएकोले सडक खुला भएको बताइन् । ‘हामीले बुधबार राति साइट हे¥यौं । निर्माण पूर्णरुपमा सम्पन्न भएको छ । अब सवारी ढुक्कले दुईतर्फी नै सुरु भएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले प्रभावसँग भनिन् ।
यद्यपि पूर्णरुपमा भने आज बिहानदेखि मात्र सुरु हुने उनले बताइन् । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धिरज ढकालले बुधबार साँझसम्ममा सबै काम सकिएको बताए । ‘साँझसम्ममा धेरै काम सकियो । स्थानीय बेनिघाट रोराङ गाउँपालिकाले सडकमा ‘फ्लडलाइट’ जडान गर्दै छ । यससँगै रातिमा सवारी सञ्चालन गर्न सहज हुने छ,’ ढकालले भने ।
पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा आज (बिहीबार) बिहान ६ः०० बजेदेखि पूर्णरुपमा यातायात सञ्चालन गरिने जनाइएको छ । नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकोमा मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको कामलाई अन्तिम चरणमा पु¥याएको सूचनामा जनाइएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार बाढीपहिरोपछि उत्पन्न समस्या समाधान गर्न भूगर्भविद्, जियोटेक्निकल विज्ञ तथा सडक निर्माणमा अनुभवी प्राविधिकसँग आकस्मिक छलफल गरी तत्काल आधारभूत डिजाइन तयार पारिएको थियो । भदौ १९ देखि प्राविधिकसहित दैनिक ५० जनाले निरन्तर १२ देखि १६ घण्टासम्म काम गरेर सडक तयार पारेको उनले बताए ।
‘बाढी आएको पहिलो दिन ठूलो क्षति देखिएको थिएन । तर दोस्रो र तेस्रो दिन खोलाले सडकतर्फ कटान गर्न थालेपछि कृष्णभीरलगायत विभिन्न स्थानमा समस्या देखिन थाल्यो,’ जैसीले भने । कृष्णभीरमा यसअघि पनि पहिरोको समस्या देखिँदै आएको उल्लेख गर्दै उनले पुरानो सपोर्टिङ टो–वाल खोलाले बगाएपछि यसपटक थप जोखिम सिर्जना भएको बताए ।
बाढीपहिरोपछि पृथ्वी राजमार्गको दीर्घकालीन अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने अवस्था नरहेको महानिर्देशक जैसीले बताए । यद्यपि पछिल्लो विपद्ले वैकल्पिक सडकको आवश्यकता थप स्पष्ट पारेको उनी बताउँछन् ।
कृष्णभीरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ छुट्ने छन् । पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन खण्डमा पर्ने कृष्णभीरमा पहिरो खसेपछि १३ दिन लगाएर सडक बनाइएको हो । सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकले चार दिनसम्म अध्ययन गरी पहिरो गएको स्थान माथि नयाँ बाटो बनाउन सुझाव दिएका थिए ।
सडकमा भदौ २८ गते परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन गरिएकामा त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायातका साधनको आवतजावत भइरहेको छ । ग्राभेल गर्नुका साथै नाली निर्माण गरेर सडकलाई मजबुत बनाइएको मन्त्रालयको भनाइ छ । कृष्णभीरको बाटो बन्द हुँदा काठमाडौं उपत्यकामा आपूर्ति व्यवस्था असहज बनेको थियो ।
सडक विभागले बेत्रावती हुँदै धुञ्चे–स्याफ्रुबेँसी सडकलाई करिब दुई साताभित्र जोड्ने लक्ष्यसहित काम अघि बढाएको छ । रसुवा, नुवाकोट र धादिङका जनप्रतिनिधिले यसअघि प्रधानमन्त्री वालेन्द्र्र शाहसँगको भेटमा चाँडो सडकमार्ग खुलाउन माग गरेका थिए ।
जैसीका अनुसार स्याफ्रुबेँसीपछि रसुवागढीसम्म सडक जोड्न स्याफ्रुबेँसीमा ल्याइने बेलीब्रिजसमेत प्रयोग गरिने छ ।
बेत्रावतीमा बेलीब्रिज राख्ने तथा बेत्रावतीतर्फको ठूलो भीरमा भइरहेको काम सम्पन्न भएपछि रसुवातर्फको सडकलाई थप प्राथमिकताका साथ अघि बढाइने उनले बताए । रसुवागढीतर्फको दीर्घकालीन सडक कुन तहबाट र कति लगानीमा निर्माण गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन गरिने विभागले जनाएको छ । यसमा चीनसँगको सरकारको नीतिसमेत जोडिने जैसीले बताए ।
नयाँ ट्र्याक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गमा बाढीपहिरोका कारण देखिएको लामो समयदेखिको यातायात अवरोध हट्ने र यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ । तर नयाँ सडक पहिरो प्रभावित क्षेत्रभन्दा माथिबाट निर्माण गरिएकाले वर्षा तथा भू–क्षयको जोखिमलाई ध्यानमा राख्दै सतर्कतापूर्वक सवारी सञ्चालन गर्नुपर्ने झण्झट भने टरेको छैन ।
तस्बिरः सामाजिक सञ्जालबाट