वीरगंज - पर्सामा मोटरसाइकलको पेट्रोल ट्यांकीभित्र फल्स बटम बनाई लुकाएर ल्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध चरेससहित एक व्यक्ति पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौबाट खटिएको टोलीले पर्साको बिरगंज महानगरपालिका–१७, अलौस्थित सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चरेस बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार मोटरसाइकलको ट्यांकीभित्र फल्स बटम बनाई लुकाइछिपाई ल्याइएको ९ किलो ५०० ग्राम चरेस फेला परेको थियो।
टोलीले चरेससँगै एक थान मोबाइल फोन र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद लागूऔषध, मोबाइल तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा नाकाबाट लागूऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।