काठमाडाैं- नेपालका चर्चित पाइलट विजय लामालाई उडानमा रोक लगाइएको छ । विमान आकाशमै उडिरहँदा
अनुमतिबिना अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजयलाई उडान भर्नमा रोकिएको हो ।

विदेशी भ्लगर साम चुईलाई विमान उडाइरहेकै समयमा ककपिटबाट नै लामाले भिडियो अन्तर्वार्ता दिएका थिए । यसरी अनुमतिबिना ककपिटमा चालक दलका सदस्य बाहेक अन्य व्यक्तिको प्रवेश निषेधित हुन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमति लिएर मात्र पाइलटले फोटो वा भिडियो खिच्न सक्छन् । विजय लामाले भने एभिएसन भ्लगर साम चुईलाई अनुमतिबिना नै भिडियो अन्तर्वार्ता दिएपछि उनी छानविनमा तानिएका छन् ।
छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट हटाइएको छ । एभियसन भ्लगर साम चुईले दुबईबाट काठमाडौं आउने क्रममा विमान चालक विजय लामा र कोपाइलट सञ्जयकासाथै विमान परिचारिकाहरुसँग कुराकानी गरेका थिए ।
नेपाल एयरलाइन्सको ए ३३० विमानबाट लिएका दृश्य तथा भिडियो पनि उनले सार्वजनिक गरेका छन् । यसकासाथै साम चुईले पाइलट विजय लामाले काठमाडौंमा विमान अवतरण गरेको भिडियो समेत उक्त भ्लगमा राखेका छन् । प्राधिकरणले उडान सुरक्षालाई ध्यानमा राख्दै यस्ता अन्तर्वाता प्रतिबन्ध गरेको छ ।