काठमाडौं- राइड हेलिङ कम्पनी उबरको कम्प्युटर प्रणाली एक १८ वर्षीय ह्याकरले कब्जामा लिएका छन् । ह्याकरले बिहीबार कम्पनीको आन्तरिक कम्प्युटर प्रणाली ह्याक गरेर विभिन्न सूचनामा पहुँच बनाएका हुन् ।
उबरको आन्तरिक प्रणाली, ईमेल ड्याशबोर्ड र स्लेक सर्भरमा प्रवेश गरी उनले अनलाइन प्लेटफर्महरूमा स्क्रिनशट शेयर गरेका छन् । ती स्क्रिनशटमा कम्पनीको विभिन्न आईटी प्रणालीमा पहुँच पाएको देखिएको ब्लिपिङ कम्प्युटरले जनाएको छ ।
यसअन्तर्गत कम्पनीको सेक्युरिटी सफ्टवेयरदेखि विन्डोज डोमेनसम्म ह्याकरकाे पहुँच पुगेकाे उल्लेख गरिएकाे छ । यसबारे उबरले एक ट्वीट गर्दै याे घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
उबरको आन्तरिक कम्प्युटर प्रणालीमा पहुँच जमाउन सफल ती ह्याकरले आफूसँग अमेजन वेब सर्भिस तथा गुगल क्लाउड प्लेटफर्मको एडमिन पहुँचसमेत रहेको दाबी गरेका छन् ।दि नू योर्क टाइम्सको एक समाचार अनुसार कम्पनीले यो डेटा ब्रिचको बारेमा अनुसन्धान गर्न विभिन्न आन्तरिक प्रणाली अफलाइन बनाएको थियो ।
उक्त ह्याकरले कम्पनीको आन्तरिक स्याक सिस्टममा मेसेज पोस्ट गरेर आफूलाई उबरको कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए । ह्याकरले ट्वीटरमा एक पोस्ट गर्दै आफू ह्याकर भएको र आफूले कम्पनीको डेटा ब्रिच गरेको कुरा जानकारी दिए ।
कम्पनीको संवेदनशील जानकारी शेयर गर्दै उनले उबरले ड्राइभरलाई कम पैसा दिने गरेको आरोप लगाएका छन् । ह्याकरले उबरको स्लेक प्रणालीमा गरेको मेसेजलाई उबरका कर्मचारीले कसैले मजाक गरेको भन्ने सोचेका थिए ।
ह्याकरले पठाएको मेसेजको जवाफमा उबरका कर्मचारीले विभिन्न ईमोजी पठाउँदै मजाकको भाव प्रस्तुत गरेकाे बताइएकाे छ । आफू १८ वर्षको भएको र रमाइलोका लागि उबर ह्याक गरेको उनले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १५:४९