काठमाडाैं- सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने बताएको छ । मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो ।
सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने विषय केही समयदेखि छलफल हुँदै आएको छ । तर, सरकारले अहिलेसम्म सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सकेको छैन । अब भने नीति तथा कार्यक्रममै समावेश गरेर सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने घोषणा गरिएको छ ।
त्यसैगरी, साइबर सुरक्षा प्रणाली पनि लागू गरिने बताइएको छ । विद्युतीय प्रणालीलाई सुरक्षित बनाउने उद्देश्यका साथ साइबर सुरक्षा प्रणाली लागू गर्न लागिएको हो ।
नीति तथा कार्यक्रममा गैरसकारी संस्थालाई नियमन गर्न कानुन ल्याउने विषयसमेत उल्लेख गरिएको छ । गैरसकारी संस्थाको दर्ता तथा नियमनका लागि कानुन जरुरी रहेको सरकारको भनाइ छ । गैरसरकारी संस्थाका कामको अनुगमन गरिने बताइएको छ ।
सामाजिक संघ संस्थाको पारदर्शितालाई प्रभावकारी बनाउन राष्ट्रिय आवश्यकताका क्षेत्रमा काम गर्न प्रोत्साहित गरिने सरकारको नीति छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमलाई समेत अनुगमन गरेर नियमन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १०:४७