काठमाडौं - नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक एवं नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख गजुरधन राईलाई यसवर्षको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट समाजलाई सूसुचित गर्न योगदान पुर्याएवापत यसवर्षको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख गजुरधन राईलाई प्रदान गरिएको आयोजक संस्था सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले जनाएको हो।
आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको अध्यक्ष पत्रकार राई विगत ३० वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय रहेका छन् । यसैगरी यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान गरिएको छ ।
सिद्धिचरण श्रेष्ठको एक सय एघारौँ जन्म जयन्तीको अवसरमा काठमाडाैंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले पुरस्कार प्रदान गरेका हुन् । सिस्नुपानी नेपालललाई एक लाख राशीसहित प्रमाणपत्र र पत्रकारहरुलाई जनही २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले समाज परिवर्तनका लागि सिद्धसचरण श्रेष्ठको योगदान सदा स्मरणीय रहेको बताए । कार्यक्रममा प्राज्ञ वैरागी काइँला, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा गंगाप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा र स्वर्गीय सिद्धिचरण श्रेष्ठका छोरा रविचरण श्रेष्ठ लगायतका वक्ताहरुले समाज परिवर्तनको नायकत्व समकालिन कविताको माध्यमबाट सिद्धिचरण श्रेष्ठले गरेको बताए ।
विस १९६९ मा जन्मिनुभएका युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ लगायत अनेकौ प्रकृति प्रेम र झर्रा राष्ट्रवादी कविताहरु अहिले पनि जनजिब्रोमा छन् ।।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १६:१६