काठमाडाैं- लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ ।सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैशाख ९ गते सोमबार स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको हो ।
स्टार्टअप एण्ड आईडिया फेस्ट दिउँसो १ बजेदेखि र डिजिटल सुदूरपश्चिम संवाद दिउँसो २:३० बजेदेखि सुरू हुने आयोजकले जनाएको छ । सोही समयमा स्टार्टअपहरुको एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन तथा आईडिया पिचिङ आयोजना हुनेछन् ।
स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले सहभागिता जनाउन सक्ने छन् ।आईडिया पिचिङ सेसनमा सहभागी कम्पनीहरुले आफ्नो व्यवसाय तथा प्रोडक्ट आईडियाबारे सुनाउने र प्रतिस्पर्धा गर्न सक्ने छन् । यसरी प्रतिस्पर्धा हुने आईडियाहरुबीच उत्कृष्ट पाँचलाई आईडिया इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग सम्पर्कमा समन्वय गरिनेछ ।
यसैगरी एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।साथै डिजिटल संवादमा सुदूरपश्चिम प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टको पनिस सहभागिता हुनेछ । सुदूरपश्चिम प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा सम्वादमा वृहत छलफल हुनेछ ।
सातै प्रदेशमा योजना भैरहेको कार्यक्रमको ५औ प्रदेशको रुपमा सुदुरपश्चिममा कार्यक्रम आयोजना भैरहेको र बाकी कर्णाली र बागमती प्रदेशमा यहि १२ गते र १६ गते आयोजना हुने इभेन्ट म्यानेजर मुस्कान प्रसाईले बताईन । सातै प्रदेशको कार्यक्रम पश्चात असार ४ र ५ गते काठमाडौँमा २ दिने डिजिटल नेपाल कंक्लेभको आयोजना हुने बताइएको छ । प्रदेशको कार्यक्रममा सहभागी हुन् कुनै शुल्क लाग्दैन । स्टार्टअप तथा इन्नोभेटरले निशुल्क स्टल राख्न पाउनेछन् भने अवलोकन र सहभागिताको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा प्रदेश सरकार, दुरसंचार प्राधिकरण, हुवावे, इन्फोडेभलपर्स, इ बिमा, यार्सा ल्याब, प्रभु पे, निमा एकेडेमि, ब्रोडवे इन्फोसिस लगायतको सहकार्य र सहभागिता रहेको छ ।