काठमाडौं- हप्तामा दुई बिदा दिन सरकारको निर्णय अनुसार अस्पतालले आइतबार पनि ओपीडी सेवालाई निरन्तरता दिने भएको छ । आजदेखि हप्तामा शनिबार र आइतबार बिदामा आकस्मिक बाहेकका ओपीडी सेवा बन्द भए पनि ठूला अस्पतालले आइतबार पनि ओपीडी सेवालाई निरन्तरता दिएका हुन् ।
गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । देशका अधिकांश अस्पताल र स्वास्थ्य संस्थाले सरकारको निर्णय अनुसार आजबाट दुई दिन बिदा कार्यन्वयनमा ल्याएका छन् ।
तर केही ठूला अस्पतालले दुई दिन बन्द हुँदा नागरिकलाई स्वास्थ्य सेवा लिन असुविधा हुने विषयलाई मध्यनजर गर्दै आइतबार ओपीडी सेवालाई निरन्तरता दिएका छन् ।
आइतबार त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, प्रदेश अस्पताल सुर्खेत, आयुर्वेद चिकित्सालय नरदेवी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालले ओपीडी सेवा सञ्चालन गरेका छन् ।
वीर अस्पतालले पनि लगातार तीन दिनको बिदा परेका कारण आइतबार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । तर अर्को हप्ता थप बिदाको विषयमा स्वास्थ्य मन्त्रालयको स्पष्ट जानकारी आएपछि लागु गर्ने अस्पताल निर्देशक डा.भुपेन्द्रकुमार बस्नेतले बताए ।
यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्वास्थ्यकर्मीको समयतालिका मिलाएर मात्रै बिदाको निर्णयमा जाने जनाएको छ ।आयुर्वेद चिकित्सालय नरदेवीले पनि आइतबार बहिरंगसहितका स्वास्थ्य सेवा सुचारु गरेको छ ।
कान्ति बाल अस्पतालले भने तत्कालका लागि आइतबार बिदा दिने निर्णय तत्काल कार्यान्वयन नहुने जनाएको छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्नका लागि आवश्यक गृहकार्य गर्नुपर्ने भएकोले अर्को निर्णय नभएसम्मका लागि आइतबार अस्पतालको सम्पूर्ण सेवा यथावत् सञ्चालन गरिने अस्पताल प्रशासनले बताएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १६:४०