मोरङ- स्थानीय निर्वाचनलाई मध्येनजर राख्दै विराटनगरस्थित नेपाल-भारत प्रवेशको मुख्य नाका ७२ घण्टाका लागि बन्द गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार मतदान कार्यक्रम सम्पन्न नहुञ्जेल मंगलबार मध्यरातदेखि नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ आवतजावतमा रोक लाग्ने भएको हो ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मंगलबार राति १२ बजेबाट नेपाल-भारत सीमा क्षेत्रका सबै नाका सिल गर्दै मानिस तथा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइने बताए । प्रजिअ दाहालका अनुसार स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ७२ घण्टाका लागि नाका सिल हुने भएको हो ।
निर्वाचनका लागि यसअघि, मोरङको सुन्दरहरैंचा नगरपालिकामा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले नाका सिल गर्ने निर्णय लिइसकेको छ ।यद्यपि अत्यावश्यकका रूपमा रहेका एम्बुलेन्स, बारुणयन्त्र, पेट्रोलिय ढुवानीका साधन, शव वहानलगायतका सेवालाई भने समन्वय गरेर सुचारु गरिने कार्यालयले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा विशेष ढंगले सुरक्षा उपस्थिति बढाइएको बताएका छन् ।नाका क्षेत्र बन्द भएको अवस्थामा अवैध गतिविधि हुनसक्नेतर्फ सुरक्षा निकाय सचेत रहेको उनले जानकारी दिए ।
उनले भने,‘सीमा क्षेत्रमा सशस्त्र प्रहरीलगायतका अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेर काम हुनेछ । सीमा बन्द हुँदा हुनसक्ने खालका अवैध गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ ।’त्यस्तै निर्वाचनलाई लक्ष्य गरी इलामसँग जोडिएका भारतीय सीमा पनि मंगलबार रातिदेखि बन्द गरिने भएको छ । सूर्योदय नगरपालिका–२ पशुपतिनगरको फाटकसहित र सन्दकपुर गाउँपालिका बिभिन्न नाकामा आवतजावतमा रोक लगाइने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा मंगलबार रातिदेखि वैशाख राति १२ बजेसम्मका लागि नाका बन्द गरिने उल्लेख गरिएको छ । यसैबीच निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ । मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना हुनसक्ने भएकाले मदिरा कारोबार र सेवनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
यसैगरी कञ्चनपुरमा नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । वैशाख ३० गते शुक्रबार मतदानकार्य सम्पन्न नभए सम्मका लागि जिल्ला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६(झ)एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ ।निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका मंगलबार रातिदेखि बन्द हुने भएको छ ।
भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उनले बताए ।
यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ ११:१४