

काठमाडौं— सरकारले राजस्व संकलनमा राखेको लक्ष्य पूरा गर्न सकेन । शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री देशमा गहिरिँदै गएको अर्थतन्त्रको संकटलाई समधान गर्नेभन्दा पनि कर्मचारीलाई कारबाही गर्नेतर्फ बढी केन्द्रित भएकै कारण देशको अर्थतन्त्र शून्यमा पुगेको छ । भने लक्षित राजस्व संकलनमा कमजोर बन्दै गएको छ ।
चालु वर्षको नौ महिना सकिँदा आन्तरिक र भन्सार दुवैमा सरकारले लिएको लक्ष्य पूरा गर्न सकेन । आन्तरिक राजस्व विभागले चैत महिनामा ३७ अर्ब ५४ करोड रूपैयाँको राजस्व संकलन लक्ष्य राखेको थियो । तर सोे अवधिमा ३४ अर्ब २७ करोड रूपैयाँमात्रै संकलन भएको छ । भन्सार तर्फ ४६ अर्ब राजस्व उठ्ने अनुमान गरेको भन्सार विभागले ४० अर्ब मात्रै महसुल संकलन गरेको विभागले जनाएको छ । आयातको सूची बढ्दा सरकारले यसलाई नियमन गर्न ३ सयभन्दा बढी वस्तुहरूमा एलसी खोल्न कडाइ गरिसकेको छ ।
भन्सार लक्ष्यभन्दा कम उठ्दा आन्तरिक राजस्वमा गिरावट नियन्त्रणभन्दा बाहिर गएको छ । चैत महिना अग्रिम आयकरको दोस्रो किस्ताको ७० प्रतिशत तिर्ने महिनाको रूपमा लिईन्छ । यही महिना सरकारले अनुमान गरेअनुरूप आयकर संकलन हुन नसक्दा अर्थतन्त्रको विकास नाजुक बन्दै गएको छ । यो महिना आयकर शीर्षकमा १७ अर्ब ६८ करोड राजस्व उठ्ने अनुमान गरिएकोमा १६ अर्ब ५४ करोड मात्रै राजस्व संकलन भएको छ ।
यो लक्ष्यको ९४ प्रतिशतमात्र हुन आउछ । मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा ९ महिना कुनै पनि महिना लक्ष्य पूरा गर्न सकेन् । यो महिना ९ अर्ब २८ करोड रूपैयाँको लक्ष्यमा ७ अर्ब १५ करोड रूपैयाँमात्र संकलन भएको छ । अन्तःशुल्क शीर्षककोमा पनि लक्ष्य पूरा गर्न सकेन । यो महिना ७ अर्ब ४१ करोड लक्ष्यमा ७ अर्ब १५ राजस्व संकलन भएको हुन गएको विभागको रेकर्डमा उल्लेख छ । सरकारले गरेको आयात प्रतिबन्ध र अर्थतन्त्रमा देखिएको नकारात्मक हल्लाले राजस्वमा आउँदा दिनहरूमा झनै संकट देखिने विज्ञहरूको बुझाई रहेको छ । अहिले सरकार दोहोरो दबाबमा परेको छ ।
एकातर्फ राजस्व संकलन गर्नुपर्ने छ भने अर्को तर्फ विदेशी विनिमय सन्तुलन कायम गर्ने दबाबमा सरकार परेको छ । आयात प्रतिबन्धले प्रत्यक्ष भन्सार महसुलमा असर देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको मुख्य वस्तुले भन्सार महसुलमा मुख्य योगदान दिदै आएको थियो । गाडी आयातले राजस्वमा तेस्रो धेरै योगदान दिदै आएको थियो ।
चालु वर्षको ८ महिनामा ६९ सय ३१ वटा सवारी आयातबाट १५ अर्ब ३३ करोड भन्सार महसुल संकलन भएको थियो । यो अवधिमा १ लाख मोटरसाइकल आयातबाट ८ अर्ब ३२ करोड राजस्व संकलन भएको विभागको रेकर्डमा उल्लेख छ । मोटरसाइकल आयातले भन्सार महसुलमा चौथो सूचीमा पर्ने गरेको छ । कुनै पनि कम्पनी चालु वर्षमा यति आम्दानी हुन्छ भनि अनुमान गरी कर दाखिला गर्नुपर्नेमा व्यवसायीले कम आयकर दाखिला गरेको विभागले जनाएको छ ।
चालु वर्षमा भ्याट तर्फ अधिकाशंले छली गरेको अनुमान समेत विभागले लजाएको छ । यो वर्षमा भ्याटमा गरिएको नीतिगत परिवर्तन बाहेक भ्याट अघिल्ला वर्षभन्दा कम संकलन हुनु गएको छ । भ्याट संकलनमा गिरावट आउनु राम्रो संकेत नभएको विभागका अधिकारीले बताएका छन् । नीतिगत सुधारको प्रयास नभएका कारण आर्थिक वर्ष २०७१÷७२ देखि ०७५÷७६ सम्म भ्याट छलीले उग्ररूप लिएकोमा अहिलेपनि सो अबैध कार्यले निरन्तरता पाएको विभागका अधिकारीहरूले बताएका छन् । अहिले पनि राजस्व अनुसन्धान विभागमा १५ सय भन्दा बढी भ्याट छलीका फाइल अझै अनुसन्धानकै क्रममा रहेको समेत विभागले जनाएको छ ।
अन्तःशुल्कमा समेत ठूला संख्यामा छली हुदै आएकै कारण लक्षित राजस्व संकलन नभएको विभागको ठहर रहेको छ । रक्सी र चुरोटमा टाँसिने स्टिकरको अभावले राजस्व विभागलाई सताइरहेको जनाएको छ । विभागले जनक शिक्षा सामाग्रीले छापेको स्टिकर काम चलाउको रूपमा चलाइरहेको छ ।