पाल्पा - पाल्पामा हिजो बेलुका भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पानीडाँडादेखि जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नं.को बस बसधनीले चलाएपछि चार सयमिटर तल खसेर दुर्घटना हुदाँ दुई जनाको मृत्यु र चार बालकहरु घाइते भएकाे प्रहरीले जनाएको हाे ।
हिजो बेलुका ५ बजेतिर रैनादेवी छहरा गाउँपालिकाको वडा नं.६ स्थित पानीडाँडादेखि जुठापौवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नं.को बस बसधनीले चलाएपछि चार सयमिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ का ४२ वर्षीय बेदबहादुर जिसी र सोही स्थानमा १० वर्षीय अशोक रास्कोटी रहेको प्रहरीले जनाएको छ ।
बसमा सवार अन्य ४ जना बालकहरु घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय रोहीत घर्ती, ८ वर्षीय मिलन बगाले, ८ वर्षीय रोम घर्ती, र ९ वर्षीय खिमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र जिसीका अनुसार सबै घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।