
काठमाडौं (प्रस) – नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त भएका छन् । महासंघको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले उनलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी उपमहानिर्देशकको रूपमा महासंघमा कार्यररत थिए ।
त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका महानिर्देशक अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् । अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार महानिर्देशक अवस्थी यसअघि नेपाल आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष थिए ।
करिब दुई दशकभन्दा बढी आर्थिक पत्रकारिता गरेका महानिर्देशक अवस्थीसँग संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेको अनुभवसमेत छ । नवनियुक्त महानिर्देशक अवस्थीसँग उद्योग, वाणिज्यसहित समग्र निजी क्षेत्रका विषयमा पनि राम्रो अनुुभव रहेको छ ।