काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थललाई थप विकसित बनाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएका दुई सदस्यलाई आज बोर्ड बैठकमा स्वागत गर्दै उनले विमानस्थललाई थप सुरक्षित तथा चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका हुन् ।
नवनियुक्त हभएका सदस्यमा पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर तथा रोशना चित्रकार हुन् । प्राधिकरणको बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत भएका मन्त्री आलेले नवनियुक्त सदस्यसहित सबै पदाधिकारीलाई नागरिक उड्डयन प्राधिकरणको हितका लागि काम गर्न निर्देशन दिए ।
केही हप्ता पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा घेराको तारबारबाट एक जना नागरिकभित्र छिरी जहाजभित्र पसेको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थालाई थप कडाइ गर्नुपर्नेमा जोड दिए । उनले भने, “विमानस्थल भनेको अतिसंवेदनशील क्षेत्र हो, गैरव्यक्ति छिर्न नदिन सुरक्षा व्यवस्था बलियो र मजबुद बनाउनु होला ।”
यसैगरी मन्त्री आलेले पछिल्लो समय नेपालका विभिन्न विमानस्थलमा जङ्गली जनवार बँदेल, स्याल छिर्ने तथा जहाज सञ्चालनमा समस्या हुने गरेको भन्ने सुनिएकाले विमानस्थलका पेरिमिटरमा नियमित गस्ती गर्न थप टोली परिचालन गर्नसमेत आग्रह गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको उडान अवतरणमा ढिलाइ हुने तथा केही दिन पहिलेको भिजिबिलिटीका कारण उडान अवतरणमा समस्या भएको विषयमा ट्वीटरमा विभिन्न कमेन्ट आएकाले त्यस्ता ट्वीटरको तत्काल रेस्पन्स तथा उत्तर दिनका लागि एक छुट्टै कर्मचारी खटाउन तथा ट्वीटरको तत्काल उत्तर दिनसमेत निर्देशन दिए ।
विमानस्थलको अवस्थाका बारेमा दैनिक नागरिकलाई जानकारी हुने गरी सूचना प्रवाह गर्नसमेत मन्त्री आलेले प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिए ।