

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई राजस्वको स्रोतको रूपमा मात्रै हेर्ने गरेका कारण अर्थतन्त्रको विकासमा अबरोध पुगेको बताएका छन् । अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई राजस्वको स्रोतको रूपमा भन्दा पनि विकास साझेदारको रूपमा हेर्न समेत सरकारलाई आग्रह गरेका छन् । महासंघको ५७ औं वार्षिकोत्सवमा उनले निजी क्षेत्र साक्षी मात्रै नभएर कतिपय ठाउँमा नेतृत्व गर्न चाहेको बताए ।
उनले पहिलो ५ महिनामा ५ दशमलव ११ प्रतिशतले वृद्धि भएको अर्थतन्त्र अब संकुचित हुन लागेको बताउदै अब ७ प्रतिशत आर्थिक वृद्दि नहुने दाबी गरे । अध्यक्ष गोल्छाले निजी क्षेत्र संकटउन्मुख रहेको तर, सरकारले संकटग्रस्त बनाएको भन्दै विरोध गरे । अर्थतन्त्रको ७७ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रलाई सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफलको कुनै निर्णयबारे जानकारी नदिएकाले पनि सही सुझाव दिन नसकिएको बताए ।
उनले वित्तीय प्रणालीमा १० अर्ब रूपैयाँ मात्रै तरलता उपलब्ध भइरहेको भन्ने कुराको अर्थ के हो ? अर्थतन्त्रले गति लिने बित्तिकै किन तरलता अभाव हुन्छ ?, सरकारको पुँजीगत खर्च सुरुमा किन हुन सक्दैन र किन ८० प्रतिशत नाघ्न सक्दैन ?, उद्यमी व्यवसायीले यस्तो उतारचढाव भइरहने ब्याजदरमा कसरी काम गर्न सक्छन् ? यी र यस्ता प्रश्न अहिले उठी रहेको समेत बताए ।
उनले भने,‘हामीले सम्पत्ति अभिलेखीकरणको माग गरिरहेका छौं, यसले अहिलेको धेरैजसो समस्या समाधान गर्नेछ । यी विषयमा छलफल होस् भन्ने मेरो चाहना हो ।’ उत्पादनमूलक उद्योग विस्तारको अवरोधका रूपमा देखेका मुख्य चार समस्याबारे छलफल गर्ने उनले बताए । यसमा मुख्यतया पूर्वाधार, प्रशासनिक अवरोध,पुँजीको लागतलगायत समस्या समाधानका उपाय खोजी हुने उनले बताए ।