

काठमाडौँ— अर्थमन्त्री जनार्दन शर्माको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरलाई निलम्बन गर्नु निर्णय गरेको ठहर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको छ । एमालेले ‘अराजक अर्थमन्त्री’ भएको भन्दै एकाएक गर्भनरलाई निलम्बन गर्नु इतिहासकै ठूलो गल्ती भएको समेत बताएको छ ।
एमालेले आइतबार पत्रकार सम्मेलन गरी मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णयभित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको छ । एमालेले भनेको छ, ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहीत स्वार्थ समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धनभित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन ।’
गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको आरोप एमालले लगाउँदै आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आङ्खनो सक्कली रूप देखाएको एमालेको भनाइ रहेको छ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पत्रकार सम्मेलन गरी आफ्नो धारणा राखेको हो । पत्रकार सम्मेलनमा एमालेले सरकारका गलत कामको साथ नदिएका कारण गभर्नरलाई हटाएको निष्कर्ष निकालेको छ ।
पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले निलम्बित गभर्नर अधिकारीलाई पुनः बहाल गर्न माग गरेका छन् । उनले भनेका छन, ‘अब्बल भूमिकामा रहेका अधिकारीलाई हटाएर अवान्छित निर्णय गरेको छ, उनलाई सरकारका गलत काममा साथ नदिएका कारण हटाइएको हो, गभर्नरमाथि गरिएको हस्तक्षेप तत्काल फिर्ता नगरिए आर्थिक अवस्था झन संकटपूर्ण अवस्थामा पुग्ने छ, मुलकको आर्थिक अवस्था जोगाउन हस्तक्षप गर्नु जरुरी छ ।’ पौडेलले देउवा नेतृत्वको सरकारले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको अंगको रूपमा सञ्चालन गर्ने प्रयास गरेको आरोपसमेत लगाए ।
‘केपी ओलीको सरकारले सात प्रतिशत अर्थिक वृद्धि हासिल गरेको थियो तर अहिले तीन प्रतिशतको प्रक्षेपण गरिएको छ, नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्ने संकेतहरू देखिएका छन्,’ पौडेलले भने, ‘यो कुनै व्यक्ति महाप्रसाद अधिकारीमाथि होइन सिंगो प्रणालीमाथिको आक्रमण हो, सरकारमा रहेका व्यक्तिहरूका दूषित आकांक्षा पूरा गर्न उहाँ सहयोगी हुनुभएन, वित्त नीतिमा जसरी सरकारले नकारात्मक हस्तक्षेप गर्दा त्यसको मुकाविला गरेर अर्थतन्त्र जोगाउन खोज्दा आज गभर्नरलाई पदमुक्त गर्न स्पष्टीकरणको गलत अभ्यास गरिएको छ ।’
एमालेले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएको छ । पौडेलले सरकारका नीति नै आर्थिक संकटतर्फ लैजाने खालको रहेको भन्दै प्रधानमन्त्री वा मन्त्रीले श्रीलंका बन्न दिन्नौं भन्दैमा पत्याउने अवस्था नरहेको बताएका छन् । पूर्वअर्थमन्त्रीत्रय विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले यसबारे धारणा राखेका थिए ।