काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशीस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।
परराष्ट्र मन्त्रालयमा आइतबार दिउँसो भर्चुअल बैठक गर्दै विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहल कदम लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका हुन् ।
आगामी आवको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरुसँग भर्चुअलबाट छलफल भएको थियो । दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महावाणिज्यदुतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठकमा विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।
‘हामीलाई यतिबेला विदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईहरुले विशेष भूमिका खेल्नुपर्छ’ उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभीड १९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’
चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए । ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौँ । रेमिट गर्नेहरुलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’ उनले भने।
अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरु आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताए । ‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौं’ उनले भने, ‘गैरआवासिय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौँ ।’
त्यस्तै कुन देशमा कस्तो वस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौं । यसका लागि कुन देशमा के वस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुस् ।
त्यसपछि सोहीअनुसारको वस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले बताए । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताएका थिए । कार्यक्रममा कायममुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याए ।