पाेखरा- केही दिन यता ‘विज्ञापन कर’ का नाममा पर्यटन उद्योगी व्यवसायीहरुमाथि सृजना गरेको दबाबप्रति पर्यटन व्यवसायीहरुको छाता सङ्गठन पोखरा पर्यटन परिषद्ले पोखरा महानगरपालिकामा ध्यानाकर्षण भएको जनाएको छ ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा आर्थिक वर्ष २०७८/७९ का लागि पोखरा नगर क्षेत्रको विज्ञापन कर उठाउने अख्तियारी आफूले प्राप्त गरेको भन्दै साइन हब प्रालिले केही दिनयता व्यवसायीहरुको व्यावसायिक प्रतिष्ठानहरुमा पुगेर अनावश्यक दबाब दिँदै आएको जनाएको छ ।
पोखरा महानगरपालिका, सङ्घीय सरकारले तोकेको राजश्व सङ्कलन गर्न स्वतन्त्र रहेता पनि व्यवसायीहरुको आफ्नो व्यवसायको चिनारीका रुपमा राखिएका बोर्डहरुको शुल्क असुल्न खोज्नु जायज नभएको उल्लेख गर्दै सो कार्य रोक्न आग्रह गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘व्यवसायीहरुले आफ्नो व्यवसाय चिनारीका लागि राखिएका बोर्डहरु विज्ञापन नरहेकोसमेत जानकारी गराउँदछाैँ। नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भई दर्ता शुल्क, आयकर, व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर सङ्कलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीहरुको सार्वभौम अधिकार हो । कानुनले दोहोरो कर वर्जित गरेको छ ।’
परिषद्ले महानगरको सो कदमको विरोध गर्दै उसको स्वेच्छाचारी प्रवृत्ति भएको बताएको छ । व्यवसायलाई संरक्षण गर्नुपर्ने दायित्व भुलेर राज्यबाटै व्यवसायीमाथि विज्ञापन करका नाममा लगाइएको यो कर नतिर्ने जनाएको छ ।