

काठमाडौं (प्रस)– नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । पौडेलले केन्द्रीय कार्यालयमा शुक्रबार पदभार ग्रहण गरेका थिए । उनलाई सरकारले आगामी चार वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।
पदभार ग्रहण गर्दै पौडेलले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रूपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरूलाई आम जनताको सहज र सुलभ पहुँचमा पु¥याउनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने बताए । उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रूपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
पदभार ग्रहण गर्दै पौडेलले नेपाल सरकारको सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्याउने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहं दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाका रूपमा कायम राख्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उक्त अवसरमा टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरू उपस्थिति थिए ।