काठमाडौं - सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै, सरकारले बैठकले हेटाैंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गरेको छ ।
सरकारले श्रम अदालत, न्यायधिकरणहरु, सैनिक विशेष अदालतका अध्यक्ष र भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाण सम्बन्धी पुनरावेदन समिति र काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष समेत तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले जानकारी दिए।
सरकारले श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासका न्यायधीश बासुदेव आचार्यलाई, राजश्व न्यायधिकरण पोखराको कानुन सदस्य एवम् अध्यक्षमा उच्च अदालत पोखराका न्यायधीश रमेशप्रसाद राजभण्डारीलाई, बैदेशिक रोजगार न्यायधिकरणको अध्यक्षमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायधीश डा.रवि शर्मालाई र सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्याधीश महेश प्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाण सम्बन्धी पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालतका पाटनका न्यायधीश बालेन्द्र रुपाखेतीलाई र काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालतका पाटनका न्यायधीश महेश शर्मा पौडेललाई तोकेको छ ।
मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाललाई र सदस्यमा केशवराज आचार्यलाई नियुिक्त तथा मनोनयन गरेको छ ।
यसैगरी, सरकारले रोजगारी अनुमति प्रणाली (इपीएस)मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्नै, नेष्ठ नागरिकहरुलाई बिशिष्ठ प्रकारको सेवा उपलव्ध गराउन विशेषज्ञ सेवा सहितको जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
यस्तै, सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयको भवन तथा पूर्वाधार संरचना निर्माणका लागि संखुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिकामा निर्माणस्थल तोकेको छ ।
यस्तै, हिजै बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी यसअघि असोज ५ गते गरेको निर्णय खारेज गर्नुका साथै विभिन्न जलविद्युत आयोजना र जग्गा प्राप्ति र जग्गा प्राप्तिका लागि कारबाही चलाउने अधिकारी समेत तोकेको छ ।
बैठकले दक्षिण अप्रिकाको डर्वानमा २०७९ जेठ १ गतेदेखि ६ गतेसम्म हुने 5th Global Conference on the Elimination of Child Labour सम्मेलनमा भाग लिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नेतृत्वको प्रतिनिधि मण्डल र अमेरिकाको कोलोराडोमा आयोजना हुने रकि माउण्टेन च्याम्पियनसिप २०२२ मा युवा तथा खेलकुद मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय समेत गरेको छ ।