

काठमाडौं— काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका १८ वटा सहकारीले बचतकर्ताको रकम हिनामिना र ठगी गरेपछि कारबाहीका लागि उजुरी दर्ता गरिएको छ । तीन महिनाको अवधिमा १८ वटा सहकारीले ठगी गरेको भन्दै उजुरी दर्ता भएको सहकारी विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पुस महिनादेखि फागुन मसान्तसम्ममा विभिन्न नामका सहकारीहरूले ४ करोडभन्दा बढी ठगी गरेको भन्दै कारबाहीको माग राखी उजुरी दर्ता भएको विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार उजुरी परेकमध्ये चार वटा सहकारीको उजुरी मिलापत्रको क्रममा रहेको जनाइएको छ । १४ वटा सहकारीविरुद्ध प्रहरीमा उजुरी पठाइएको छ ।
विभागले यस अवधिमा चार करोड ९० लाख रूपैयाँभन्दा बढी रकमको माग दावी गर्दै १८ वटा सहकारी विरुद्ध उजुरी दिएको बताइएको छ । विभागमा १८ वटा उजुरी आएको भए पनि चार वटा उजुरी भने बचत रकम फिर्ता गर्नका लागि सम्बन्धित संस्थालाई पत्र पठाएको सहकारी विभागले जनाएको छ । किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, मानापाथी ट्रिपल एम बहुउद्देश्यीय सहकारी संस्था, आधारभूत बहुउद्देश्यीय सहकारी संस्थालगायतका विरुद्धमा उजुरी परेको छ ।
अन्यमा मनसुन बचत तथा ऋण सहकारी संस्था, मुस्किलमा सजिलो सहकारी, हलमार्क, सामाजिक बचत तथा ऋण सहकारी संस्था, गृह शान्ति सहकारी, सर्वश्री, जनमत सहकारी, अस्मोसिस, कान्ति, जुझारु, लक्ष्मीबास, संघर्ष र द नेक्स्ट बचत तथा ऋण सहकारी रहेका छन् । विभागमा छ वर्षको अवधिमा ५० वटा सहकारी विरुद्ध ठगीको उजुरी दर्ता भएका थिए । उक्त अवधिमा परेका उजुरीमा १९ वटा मिलापत्रमा गएका थिए भने बाँकी ३१ वटा उजुरी प्रहरीकोमा पठाइएको विभागले जनाएको छ ।
विभागका अनुसार यस अवधिमा एक हजार ४०१ जना सदस्यले ७४ करोड ४३ लाख ९५ हजार ८३७ रूपैयाँ बराबरको माग दाबी गर्दै ३१ वटा सहकारी संस्थाविरुद्ध उजुरी हालेका थिए । विभागले अहिले सहकारीका विरुद्धमा मात्र हैन सहकारीहरूले पनि ऋणीबाट ऋण उठाइदिनुप¥यो भन्दै उजुरी आउन थालेको समेत जनाएको छ ।