

काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको गुनासो पोखेका छन् । बुधबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री महतले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको टिप्पणी गरे । उनले अनुपयुक्त रूपमा नेपालमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै गुनासो पोखे ।
महतले भने, ‘बजेट धेरै ठूलो घोषणा गर्ने अनि कार्यान्वयन नै नहुन नसक्ने बजेट ठूलो बनाएपछि, आन्तरिक र बाहृय ऋण पनि बढाउने, यसले ठूलो घाटा भएको छ । मैले अर्थमन्त्री हुँदा ६/७ वर्ष पहिले कूल तिर्नुपर्ने आन्तरिक ऋणचाहिँ जम्मा जिडिपीको २५ प्रतिशत बराबर थियो, अहिले बढ्दै बढ्दै गएर जिडिपीको झण्डै ४० प्रतिशत आन्तरिक ऋण भएको छ । करिब ६० प्रतिशत जति वैदेशिक ऋण छ । यसरी ऋण निकै बढेको छ । आन्तरिक ऋण पनि सार्वजनिक रूपमा ठूलो ऋण उठाएन । जिडीपीको दुई प्रतिशतभन्दा बढि आन्तरिक उठ्न हुन्न भन्ने हाम्रो नीति थियो।
जिडिपीको अहिले छ प्रतिशत आन्तरिक ऋण लिने घोषणा गरिएको छ । यसले गर्दा बजेट कार्यान्वयन हुन नसक्ने अवस्था पनि देखिएको छ ।’ उनले यो आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा पाँच खर्बमात्रै खर्च भएको तथ्यांक सुनाए ।
उनले विदेशबाट आयात निकै बढेको तथ्यांक सुनाए । महतले विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको बताए । उनले विकास आयोजनाहरूको सही तवरले कार्यान्वयन हुनुपर्नेमा जोड दिदैँ अहिले ती आयोजनाहरूको कार्यान्वयन सही तवरले नभएको बताए । आर्थिक विकासको लागि पहिलो कुरा त आर्थिक वृद्धिद्धर बढाउनुपर्ने उनको सुझाव छ ।
‘देश श्रीलंकाजस्तो हुनसक्छ’
त्यस्तै पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्नेतर्फ सचेत गराएका छन् । उनले भने, ‘अहिले विदेशी मुद्रामा चाप परेको छ । हुन त अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन । सरकारले चनाखो भएर उपयुक्त कदम चाल्नुपर्छ । सुधार गर्नुको विकल्प छैन । तर, हामीले होस् पु¥याएनौं भने श्रीलंकाजस्तो अवस्था हुनसक्छ ।’
उनले बजेट घाटा बढ्दै गयो भने त्यसलाई पूर्ति गर्नको लागि आन्तरिक र बाहृय ऋण लिनुपर्ने हुनसक्ने पनि सुनाए । अर्थतन्त्रमा खाली राजनीति राजनीति भनेर नहुने पनि उनको धारणा छ । उनले वित्तीय स्थिरता र वित्त सन्तुलनले अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या हल गर्न सकिने विश्वास दिलाए । सरकारले अर्थतन्त्र सुधारको लागि चालेको कदम पनि सकारात्मक रहेको उनको भनाई छ । उनले श्रीलंकाजस्तो नेपालमा पनि समस्या हुन्छ कि भन्ने चर्चा भैरहेको उल्लेख गर्दै त्यस्तो अवस्था नरहेको स्पष्ट पारे ।
अहिले अर्थतन्त्र सुधारको लागि सरकारको तर्फबाट चालिएको स्टेप राम्रै रहेको उनको तर्क छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने भन्दै यसको लागि सबै निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले अहिले अर्थतन्त्र संकुचनमा जानुको आन्तरिक र बाहृय दुवै कारण रहेको सुनाए । रेमिटयन्सको अवैद्य कारोबार हटाउनुपर्ने र औपचारिक च्यालनबाट मात्रै रेमिट्यान्स ल्याउन प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । उनले अहिले पेट्रोलियम पदार्थको उपयोग कम गर्नुपर्ने पनि धारणा राखे । उनले नेपालको आर्थिक अवस्था पनि श्रीलंकाजस्तो अवस्था हुन थाल्यो भन्ने कुरा पनि चर्चामा रहेको सुनाए ।
अहिले अर्थतन्त्रमा समस्या आउनुको बाहृय कारण भने कोभिडको महामारी नै भएको सुनाए । उनले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो संकट नभएको जिकिर गरे ।