

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकरहरूलाई बोलाएर गाडी आयातको एलसी रोक्न निर्देशन दिएपछि अटो व्यवसायीहरूले छाता संगठन अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को बसेको आबस्मीक बैठकले राष्ट्र बैंकसँग लिखित निर्देशन माग गर्ने निर्णय गरेको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर राष्ट्र बैंकले गाडी आयातका लागि एलसी नखोल्न र खोले नखोलेको रिपोर्ट दैनिक राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएपछिको आपतकालिन बैठक बसेको थियो । बैठकले राष्ट्र बैंकले लिखित रूपमा दिएको निर्देशन मात्रै मान्य हुने भन्दै मौखिक निर्देशन कै भरमा बैंकहरूले एलसी खोल्न छोड्नु गलत भएको ठहर समेत सो बैंठकले गरेको जनाइएको छ । बैठकले राष्ट्र बैंकबाट लिखित आएपछि अर्को बैठक बसेर आधिकारिक धारणा बनाउने निर्णय पनि गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूका सीईओलाई बोलाएरै यस्तो खालको निर्देशन दिएपछि अटोमोबाइल्स व्यवसायीहरू भने आक्रोशित बन्दै गएका छन् । राष्ट्र बैंकको निर्देशनले आफूहरू शोरुम बन्द गरेर बस्नुपर्ने अवस्था आएको समेत व्यवसायीहरूले बताएका छन् । अटोमोबाइल्स क्षेत्रलाई मात्रै तारो बनाएर सो निर्देशन दिनु दुःखद भएको व्यवसायीहरूले बताएका छन् । अटोमोबाइल्स क्षेत्र शत् प्रतिशत लगानी फिर्ता हुने ग्यारेन्टी भएको क्षेत्र भएको भन्दै यस क्षेत्रबाट राजश्वमा २५ प्रतिशत योगदान दिने गरेको समेत सो संस्थाका अध्यक्ष धु्रब थापाको दाबी रहेको छ । व्यवसायीहरूले एलसी खोल्न नपाएपछि बैंकहरूले आयात भईसकेका गाडीमा पनि फाइनान्सिङ नगर्ने भन्दै यसले राजश्व लक्ष्यमा समस्या पार्ने बताएका छन् ।
भन्सारमा आधारित अर्थतन्त्र भएको मुलुकमा ठूलो मात्रामा (कुल राजश्वको २५ प्रतिशत) राजश्व बुझाउने क्षेत्रमाथि अंकुश लगाउँदा कर्मचारीले तलब खान नसक्ने अवस्था निम्तिन सक्ने चेतावनी अध्यक्ष थापाले दिएका छन् । उनका अनुसार गत आर्थिक वर्षमा अटोमोबाइल्स क्षेत्रले २ अर्ब ५० करोडभन्दा बढीको राजश्व बुझाएको समेत दाबी सो संस्थाको रहेको छ ।