काठमाडौं - संयुक्त राष्ट्रसंघको आह्वानमा कङ्गोमा तैनाथ एक नेपाली शान्ति सैनिकको निधन भएकाे छ । ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत अनिल गुरुङ सैनिकको मगंलबार निधन भएको हाे ।
‘अप्रेसन बाली’ का क्रममा मगंलबार घाइते भएका सुर्खेत घर भएका गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिएका छन् ।
प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते भएकाे जनाइएकाे छ ।
घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।