

काठमाडौं— देशको अर्थतन्त्र नाजुक मोडमा पुगेपछि विभिन आयात वस्तुमा रोक लगाउन थालिएको छ । यसैक्रममा गाडी लगायत विलासिताका वस्तुहरूको आयातकालागि खोलिने प्रतितपत्र (एलसी) नखोल्न र आयातसमेत रोक्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।
सरकारको विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै गम्भीर मोडमा पुगेको भन्दै राष्ट्र बैंकले वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर सो निर्देशन दिएको हो । राष्ट्र बैंकको सो निर्देशनसँगै अत्यावश्यक वस्तुबाहेक अरू विलासी सामानहरूको आयात गर्न रोक लगाएसंग आयात रोकिने वाणिज्य बैंकका सिइओहरूले बताएका छन् ।
बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र थप जोखिममा परेपछि गाडीलगायत विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको सिइओहरूको बताएका छन् । राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई आकस्मिक रूपमा बोलाएर ती वस्तु आयात गर्न एलसी खोलेको भेटिए कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा आकस्मिक रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई केन्द्रीय बैंकमा बोलाएको थियो । गभर्नर र डेपुटी गभर्नर भने सो छलफलमा अनुस्थित रहेका थिए । अनुसन्धान, नियमन, सुपरिवेक्षण र विनिमय व्यवस्थापन विभागका प्रमुखहरूले ४५ मिनेट लामो निर्देशन दिएसंगै छलफल समापन भएको थियो । सबै प्रकारका सवारी साधन र यसअघि निर्दिष्ट कम आवश्यक वस्तुको आयातका लागि मंगलबारदेखि नै एलसी बन्द गर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सवारी साधनलगायत अत्यावश्यक बाहेकका आयातमुखी कर्जा कम गर्न बैंकहरूलाई आग्रह गरिएको बताएका छन् । उनले तरलता अभाव भएपछि बैंकहरूको कर्जा प्रवाह क्षमता घटेपछि अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा कमी आए पनि आयात कर्जा अपेक्षित रूपमा नघटेपछि सो आग्रह गरिएको उनले बताए ।
चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको बैंकले जनाएको छ । असार मसान्तमा सोे सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकामा माघ मसान्तमा ९ अर्ब ७५ करोड रहन पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब २४ अर्ब ६३ करोड रूपैयाँ छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी मुद्रा सञ्चिति माघ मसान्तसम्म १ खर्ब ४८ अर्ब ४२ करोड रूपैयाँ छ । सात महिनामा बैंकको विदेशी मुद्रा सञ्चितिमा ३ दशमलव ९ प्रतिशतले कमी आएको बैंकको तथ्याङकमा उल्लेख छ आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातका अनुसार बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कायम गर्न तय गरेको वार्षिक लक्ष्यभन्दा कम हो ।
सो निर्देशनलाई पनि अन्य बैकहरूले सकारात्मक रूपमा लिएको र मुलुक आर्थिक हिसाबले जटिल परिस्थितिमा रहेकाले अवस्था थप जटिल हुन नदिन आङ्खनोतर्फबाट सक्दो काम गर्ने जिम्मेवारी पनि रहेको बैंकर्सहरूले बताएका छन् । चालु आर्थिक वर्षको ७ महिनासम्मको कुल आयातमा सवारी साधन र तिनको पार्टपुर्जाको हिस्सा साढे ७ प्रतिशत छ ।
यस वर्षको सोही अवधिमा सवारी साधन र पार्टपुर्जाको आयात साढे २६ प्रतिशतले बृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघसम्म ८६ अर्ब ९ करोड रूपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात गरिएको छ । २०७७ माघसम्म ६७ अर्ब ९७ करोड रूपैयाँको सवारी साधन र पार्टपुर्जा आयात गरिएको थियो । यो अवस्थाबाट सुधार ल्याउन भन्दै दुई चरणमा गरेर राष्ट्र बैंकले १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।