

काठमाडौं– कीर्तिपुरस्थित चोभारमा निर्मित सुक्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको मंगलबार उद्घाटन गरेका हुन् । उनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न बन्दरगाह कोसेढुंगा सावित भएको बताए ।
प्रधानमन्त्री देउवाले निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने बताए । साथै, भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास उनको विश्वास छ । बन्दरगाहले काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजता प्रदान गर्न र वस्तु वा सेवाको लागत घटाइ थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने देउवाले बताए ।
‘मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलितरूपमा विकास गर्दै व्यापार पूर्वाधार व्यवस्थापन र प्रतिस्पर्धी बनाउन सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी महत्वपूर्ण संरचना हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसलाई आत्मसात् गरी सरकारले मुलुकका विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण र छिमेकी मुलुकको सीमा क्षेत्रमा जोडिएको नाका र भन्सार करिडोरको स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको छ ।’ उनले आर्थिक वृद्धिको इञ्जिन मानिने अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा यस प्रकारका संरचना निर्माणको खाँचो रहेको औँल्याए । अर्थमन्त्री जनार्दन शर्माले यसलाई निर्यातको केन्द्रबिन्दु बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।
मुलुकको राजधानीबाट राजमार्ग हुँदै सीधै समुद्रसँग जोडिने नेपालको पहिलो र महत्वपूर्ण उक्त बन्दरगाहलाई आयात÷निर्यात व्यापार प्रवद्र्धनका लागि सेतुका रूपमा हेरिएको छ । उद्योगी व्यवसायीहरूले व्यापारिक क्षेत्रका लागि चोभार सुक्खा बन्दरगाह कोसेढुंगा सावित भएको प्रतिक्रिया दिएका छन् । यसले मुलुकको प्रतिस्पर्धात्मक व्यापारलाई अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
काठमाडौं उपत्यका र वरपरका वस्तुको माग र आपूर्ति व्यवस्थापन गर्न निर्माण गरिएको बन्दरगाह २०७५ को असारमा सम्झौता भई सोही वर्षको १३ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । यसले काठमाडौं केन्द्रित भएर आउने कन्टेनरलाई विनाझन्झट अतिरिक्त विद्युतीय शिल लगाएर सीधै यहाँ भन्सार पास गर्ने गरी व्यवस्थापन गरिएकाले पनि बन्दरगाह निर्माणबाट निजी क्षेत्रसमेत उत्साहित भएका छन् ।
कोरोना महामारीका कारण प्रमुख संरचनाको निर्माण कार्य प्रभावित भएर १८ महिनामा सम्पन्न गर्नुपर्ने योजना केही ढिला गरी गत असारमा निर्माण सम्पन्न भएको थियो । बन्दरगाहमा कूल ५०० कन्टेनर र ५०० ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्रका साथै भन्सार, क्वारेन्टिन, सुरक्षा, अपरेटिङ बैंक भवनलगायत छन् ।
यस्तै अन्य व्यवस्थापनका लागि तीन भवन, तीन गोदाम, तीन एप्रिजल र स्टपिङ सेट, तीन धर्मकाँटा, विद्युतीय सवस्टेन र बाउन्ड्री लाइटको पूर्वाधार निर्माण भएको छ । कूल एक अर्ब ५४ करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको बन्दरगाह सञ्चालक संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनले अब बन्दरगाहले देशको बढ्दो व्यापार घाटालाई कम गर्दै निर्यात प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
विश्व बैंकको ऋण सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको २२८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह बनेको हो । मुलुकको वस्तु आयात र निर्यातमा लाग्ने समय र लागत वृद्धि भइरहेको अवस्थामा यसले आन्तरिक एवं वैदेशिक व्यापार सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।