काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहकाे उद्घाटन गरेका छन् ।
सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताएका छन् ।
मंगलबार चोभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस बन्दरगाहकाे सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भने , ‘यो बन्दरगाहले व्यापारलाई सरलीकरण र पारदर्शी बनाउने छ । गुणस्तरीय व्यापर पूर्वाधारले सबैलाई लाभ पुग्नेछ । हाम्रो वैदेशिक व्यापार थप व्यवस्थित प्रतिस्पर्धात्मक बन्नेछन्’ ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो ।
सरकारले यस्तो पूर्वाधार मुलुकभर आवश्यकता अनुसार बनाउने प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले नेपाली वस्तु विश्व बजारमा प्रतिस्पर्धी बनाउन पनि यस्तो पूर्वाधार आवश्यक रहेको बताए ।
उनले भने, ‘रेल आवश्यक छ तर धेरै खर्च लाग्न सक्छ । दातृ संस्थासँग सस्तो ब्याज वा ग्राण्टमा रेल ल्याउने विषयमा पनि हामी सल्लाह गर्छौं ।’