काठमाडौं - पेट्रोलियम बिक्रेताले कमिशन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्रीवितरण रोकेका थिए । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् शनिबार केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको हाे ।
पेट्रोलियम बिक्रेताले इन्धनको बिक्रीवितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार देखिएको थियो । कमिशन र ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन सुरु गरेको थियो ।
शनिबार निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । निगम र समन्वय समितिबीच पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आगामी जेष्ठ १५ गतेसम्ममा सक्ने सहमति भएको छ।
सहमति भएपछि बजारमा पेट्रोलियम पदार्थको हाहाकार सकिएकाे छ ।यस अघि सरकारी स्वामित्वका पम्पमा सवारी साधनको लामो लाइन लागेका थिए । आइतबार बिहानदेखि पम्पले पेट्रोलियम पदार्थ उठाउन थालेका छन् । निगमले आइतबार एक हजार ६०० किलोलिटर पेट्रोल र एक हजार १०० किलोलिटर डिजेल बजारमा पठाएको जनाएकाे छ ।
आज एक हजार १०० किलोलिटर डिजेल र पेट्रोल डिपोबाट वितरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज भएसँगै पेट्रोलपम्पमा देखिएका लाइन बन्द भएका छन् ।
निगमले अघिल्लो महिना पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को नोक्सानी रहेको भन्दै मूल्य बढे पनि बिक्रेताले कसिमन भने नबढाउने निर्णय गरेको थियो । व्यवसायीले डिजेल/पेट्रोल र मट्टितेलको बिक्रीबाट प्रतिलिटरको मूल्यबाट ३.३९५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।