जनकपुर- जयनगर - कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएकाे छ । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको सुरु गरेका हुन् ।
आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको थियो । पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए ।
निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उनको भनाइ छ । उहाँका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए ।
लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग भएका छन् । स्थानीय युवा सञ्जय झा रेल नियमितरुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गरे । रेल सेवा सुरु भयसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उनको विश्वास छ ।
रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका छन् । जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए ।
रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताए ।
यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुवाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ । मालवाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए।
डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको थियो ।
भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ ।
रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिएका छन् ।
कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको पाँच गुणा अर्थात् रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्योभन्दा कम हुनेछ ।
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेका थिए ।
यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।