

काठमाडौं– नेपालमा भारतीय लगानी बढाउन र भारततर्पmकोे निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतलाई आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आपूm सधैँ तयार रहेको बताएका हुन् ।
कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउदै उनले त्यसका लागि वातावरण बनाउने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा संचालनमा सहयोग पुग्ने बताए ।
कन्फेडेरेसन अफ इन्डियन इडस्ट्रिज (सिआइआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सिआइआई भारतमा महासंघको साझेदार संस्था हो । महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । ‘पछिल्ला बर्षहरूमा भारतीय लगानी घटिरहेको छ,’ उनले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौ । सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको छ ।’
उनले पर्यटन क्षेत्रमा सम्भावना बढदै गएको पनि बताए । उनले भने, ‘पहिले घुम्न आउनोस्, त्यसपछि लगानी गर्नुहोस्, अनि आम्दानी पनि गर्नुहोस् ।’ अबको दुई वर्षमा अहिलेको पर्यटन पूर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि बताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराए । नेपाल भारतका लागि नवौ ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए । ‘नेपालको भारततर्फ र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ,’ उनले भने ।
उनले नाकामा पूर्वाधार सुधार र गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए । कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरी एक अर्काको देशमा मान्यता दिनुपर्ने बताए । सिआइआईका अध्यक्ष टिभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सिआइआईको ऊर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए ।
कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनले बताए । महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यावसायिक फोरमको बारेमा जानकारी गराइन् । दुई देशका उद्यमी व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गरेकी छिन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराए ।
छलफलमा ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावनाबारे चासो र अनुभव आदानप्रदान गरेका थिए । यसअघि, महासंघ र सिआइआईका पदाधिकारीहरूबीच द्विपक्षीय छलफल भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल–भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो । छलफलमा प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोल्छा र सिआइआई प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष नरेन्द्रमले गरेका थिए । सिआइआई अध्यक्ष नरेन्द्रमले नेपालमा लगानी सम्मेलन आयोजना गर्न र भारतका विभिन्न सहरहरूमा ‘रोड शो’ आयोजना गर्न सहकार्य गर्ने बताए । सिआइआईका महानिर्देशक चन्द्रजित वनर्जीले महासंघ सचिवालयको क्षमता विकासमा पनि सहकार्य गर्न सकिने बताए ।