

काठमाडौं - सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालिरहेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्र वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले व्यवसायीका समस्या भए संवादमार्फत समाधान गर्न सरकार तयार रहेकाे जनाए । तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुरुप कारबाहीका लागि सरकार बाध्य हुने गृहमन्त्रीकाे भनाइ रहेकाे उनले बताए ।
मन्त्री खाँणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरी प्रतिवेदन पठाउन निर्देशन दिएको उनले बताए ।
दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृहमन्त्रालयले आइतबारबाटै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन पनि भनेको छ ।
गृह प्रवक्ता पाखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढेरनबढेको, दैनिक उपभोग्य वस्तु अभाव भएरनभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउने छन् ।
त्यस्तै मन्त्रालयले उद्योग बाणिज्य संघको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति, सहजता र मूल्यवृद्धि नियन्त्रणलगायत विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानुन अनुरुप सजाय गर्नसमेत निर्देशन दिएको छ ।
पेट्रोलिय पदार्थ आयातमा व्यवसायीले गरेको अवरोध शनिबार मात्रै सहमति भएर टुङ्गिएको थियो तर, अहिले पनि उपत्यकाका पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन देखिएपछि सरकारले किन समस्या समाधान भएन भनेर अनुगमन गर्न लागेको हो । धेरैजसो पम्पले पेट्रोल छैन भनी लेखेर टाँसेको पाइएको छ ।