

काठमाडौं– नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बिबिसी मास्टर सेफ : द प्रोफेसनल २०२०’ का फइनालिस्टहरूलाई नेपाल ल्याउन लागेको हो । मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत जनाएको छ ।
पाटा नेपालका अनुसार मास्टर सेफ टोली ७ अप्रिल (२४ चैत)मा काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ । सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र यहाँका विभिन्न स्थानहरूमा पर्यटन प्रवद्र्धनमा सहभागी हुने छन् । उक्त कार्यक्रमअन्तर्गत काठमाडौंमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामासमेत भ्रमण एवम् पर्यटन प्रवद्र्धनका कार्यक्रमसमेत रहेको छ । मास्टर सेफहरूले अप्रिल ११ मा काठमाडौंमा आयोजना हुने पाटा नेपालको ४५औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा पनि सहभागी हुने छन् ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरूलाई नेपाल भ्रमण गराइ उनीहरूमार्फत गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गरे ।