
जनकपुर– लामो समयको प्रतीक्षापश्चात धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने रेल जनकपुर आइपुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअल माध्यममार्फत संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि शनिबार दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको हो ।
दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल सेवा शुभारम्भ गरेका थिए । जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेशनमा दुवै देशको राष्ट्रिय झण्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयवासीले नागरिक अभिनन्दन गरेका थिए । रेल जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गराए । रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामस्थित रेल्वे स्टेशनमा उद्घाटन समारोहको आयोजना गरियो ।
आजदेखि नियमित सञ्चालन
आज आइतबारदेखि नियमित रेल सेवा सञ्चालन हुनेछ । दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ । सो रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ । पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए । जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।
यात्रुले पहिचान खुल्ने कागजात बोक्नुपर्ने
जयनगर–कुर्था खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ । खुला सीमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए । सुरक्षा र खुला सीमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।
यस्तै, आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले बताए । दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । त्यस्तै, नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।
कति छ भाडादर?
जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादर कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० रूपैयाँ भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ । २०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् ।
अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो । दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्ने क्षमता छ । यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघण्टा रहे पनि जयनगर–कुर्था रेल स्टेशनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघण्टासम्मको गति मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो । डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेशिनले उत्पादन गरेको विद्युतमार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ ।
आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा
जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै मधेस प्रदेशमा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न शहरमा नेपालीको सहज पहुँच हुनुको साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । रेल सेवा सञ्चालनसँगै भारतको राजधानी दिल्ली, पटना, बनारस, कलकत्ता लगायतका शहरसम्म सहज यात्रा गर्न सकिने छ भने दैनिक भारतीय पर्यटक नेपाल आउने अध्यक्ष महासेठको भनाइ छ ।