काठमाडौं - सवारीसाधनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा समायोजनमा स्वीकृति दिएको छ ।
राष्ट्रिय लामो दूरीका सवारीसाधनमा यातायात व्यवस्था विभागलाई वैज्ञानिक भाडादरका आधारमा नयाँ भाडादर कायमका लागि सैद्धान्तिक सहमति गर्दै मन्त्रालयले ११ देखि १४ प्रतिशतसम्म भाडादर वृद्धि गरेकाे हाे ।
राष्ट्रिय लामा दूरीका सवारीसाधनमा भाडादर समायोजन गर्न लागिएकोमा बस, ट्रक पहाड र ट्रक तराई गरी तीन प्रकारका सवारीसाधन रहेको विभागले जनाएको छ ।
यसअघि भाडा समायोजन गर्न विभागले सैद्धान्तिक सहमतिका लागि मन्त्रालय फाइल पठाएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्णय गरेपछि पुनःफाइल विभाग पुगेको छ ।
कायम रहेको भाडादरमा ११ देखि १४ प्रतिशतसम्म भाडादर वृद्धि हुनसक्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताएका हुन् । सूत्रका आधारमा कुन रुटमा कति भाडा कायम गर्ने भनी निर्णय गर्ने महानिर्देशक घिमिरेले बताए । उनले भने, “प्राविधिकले आवश्यक काम गरेर आइतबार सूचना निस्कन सक्छ ।”
मन्त्रालयबाट पेट्रोलियम पदार्थको भाडा पाँच प्रतिशत घटबढ हुँदा समायोजन स्वतः हुने र कसैले माग गर्न नपर्ने व्यवस्था गर्न लागेको विभागले जनाएको छ । विगतमा पनि स्वचालित भाडादर लागू गर्ने भनिए पनि लागू भएको थिएन ।
अहिले विभागले अन्तर प्रदेश चल्ने सवारीसाधनको भाडादर समायोजन गर्न लागेको जनाएकाे हो । संविधानअनुसार दुई वा त्योभन्दा बढी प्रदेशमा चल्ने राष्ट्रिय लामो दूरीको सवारीसाधनको भाडादर सरकारले निर्धारण गर्छ ।
प्रदेशभित्र चल्ने सवारीसाधनको प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीसाधनको भाडादर सम्बन्धित सरकारले निर्धारण गर्ने व्यवस्था छ ।