

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका लागि सुझाव दिन आह्वान गरेको छ । अर्थले सुझाव संकलनका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।
आगामी बजेट निर्माणमा जुटेको अर्थले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउनसक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर र इमेलमार्फत पनि सुझाव पेस गर्नसक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पेसाकर्मी, सञ्चारकर्मी, आमनागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरू चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले कृषि, शिक्षा, बंैक, वित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको जनाएको छ । हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको मन्त्रालयको भनाइ छ ।