काठमाडौं - प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको पत्रकार तथा सञ्चार क्षेत्रमा कोभिड–१९ को प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा साे बताएका हुन् ।
सञ्चार मन्त्री कार्कीले कोभिड होस् वा अन्य कुनै पनि बेला नेपालमा पत्रकार तथा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण देखिएको बताएका छन् । वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी काम पनि गरिरहेको बताएका छन् ।
सञ्चार मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर कार्यक्रमहरू पनि ल्याएको बताए ।
सञ्चार मन्त्री कार्कीले लोकतन्त्रलाई बलियो र संस्थागत गर्ने सवालमा पत्रकार जगतको भूमिकाको प्रशंसा गर्दै यस क्षेत्रको विकासका लागि आगामी दिनमा खेल्नुपर्ने भूमिकाका लागि मन्त्रालय तयार रहेको र सञ्चार क्षेत्रको साथमा रहेको बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले पत्रकारहरूको क्षमता विकासका लागि मन्त्रालयले महासंघकाे आवश्यकता अनुसार सघाउन तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार जगतले खेल्दै आएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रका विकास र विस्तारका लागि राज्यबाट अझ बढी प्रोत्साहनका कार्यक्रमहरू अगाडी बढाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार हरिहर विरहीले विषम् परिस्थितिहरूमा पनि नेपालको पत्रकारिता क्षेत्रले निर्वाह गरेका भूमिका ऐतिहासिक रहेकाले यस क्षेत्रको संरक्षण र विकासका लागि सरकार र सम्बद्ध पक्षले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले कोभिडको समयमा विश्व नै प्रभावित भएको अवस्थामा नेपालको पत्रकारिता क्षेत्र पनि अछुतो नरहेको र कतिपयले रोजगारीको अवसर समेत गुमाउनुपरेको हुँदा तिनको पुनर्स्थापना हुनुपर्ने, विशेष राहतका प्याकेजहरू अझ बढी ल्याउनुपर्नेमा जोड दिएका छन् ।