
पाेखरा - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा उपलब्ध गराउने भएकी छन् ।
नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सोमबार पोखरामा साँझ त्यहाँका पर्यटन व्यवसायीसँग भएको भेटमा सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिबद्धता जनाइन् । ऊर्जामन्त्री भुसालले सरकारले उत्पादित बिजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाएको बताइन् ।
सरकारले आगामी दुई वर्षभित्रमा देशभर विद्युतीकरण गरिसक्ने गरी काम अघि बढाएको मन्त्री भुसालले जानकारी दिइन् ।
मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा आफूहरू समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो गरेका थिए । केही वर्षदेखि यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा पर्यटन क्षेत्रमा असर पुगेको गुनासो व्यवसायीको छ ।
कास्कीमा अवस्थित चर्चित मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा हाल ५५ वटा होटलमा सञ्चालनमा रहेका छन् ।
विद्युत् विस्तारका लागि सिदिङ वा कालीमाटीको टान्सर्फरबाट माथि लो क्याम्पसम्म हाइटेन्शन लगेर विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरण पोखराले गत वर्ष सर्भे गरे पनि काम सुरु नभएको मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले बताए ।
उनले विद्युत् सुविधा नहुँदा पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको उहाँले बताए। फ्रिज, ओभनलगायतका उपकरणसमेत सञ्चालन गर्न नसकिएको भण्डारीको भनाइ छ ।
उनले भने, “मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली हो । बिजुली नहुँदा अहिले पर्यटकलाई चाहेजस्तो सुविधा दिन सकिएको छैन । मोबाइल र क्यामेरा चार्ज गर्न पनि समस्या छ । पर्यटक बढेसँगै होटल अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन ।”
हाल विद्युत् नपुगेको पर्यटकीय क्षेत्रमा हाल सोलारबाट बत्ती बाल्ने गरिएको छ ।