काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा नयाँ कर्मचारी खटाएको छ ।
प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका ५१४ कर्मचारीलाई खटाएको जानकारी दिएको हाे।
मन्त्रालयका शाखा अधिकृत विवेक विडारीकाअनुसार गत शनिबारसम्म मन्त्रालयमा आएको निवेदनको आधारमा कर्मचारी खटाइएको हो । मन्त्रालयले खटाइएको कर्मचारीमा अधिकांश अधिकृत स्तरका रहेका छन् ।
हार्डकपीको लागि भनेर मन्त्रालयमा नआउनसमेत सामान्य प्रशासनले निर्देशन दिएको छ ।मन्त्रालयले सबै स्थानीय तहहरुमा सहमति र सम्झौता नै गरेर कर्मचारी पठाएता पनि केहि स्थानमा कर्मचारीहरु पठाउन समस्या भएको विडारीले बताए ।
२१ जना कर्मचारी भने हाजिर हुन नसक्ने वातावरण सिर्जना भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सम्बन्धित स्थानीय तहको प्रमुखको हस्ताक्षर नभएको सहमति पत्र, स्थानीय तहले सहमति भंग गरेको, सहमतिमा दरबन्दी रिक्त नभएको उल्ल्लेख भएको र कतै सम्बन्धित पालिकाले सहमति नै नगरेको विज्ञप्तीमा जनाइएको छ ।